लाल गद्दारलाइ गृहमन्त्री बनाउनु भुल भयो : प्रचण्ड

रेडियो दर्पण संवाददाता

काठमाडौं, ७ चैत्र ।

पार्टी बिभाजनको पिडमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्री रामबहादुर थापालाई लालगद्दारको संज्ञा दिएका छन् ।

रिफ्रेसका लागि सिन्धुली पुगेका प्रचण्डले एक कार्यक्रममा बोल्दै उक्त धारणा राखेका हुन । आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी ओलीतिर लागेका पूर्वसहकर्मीहरुप्रति निकै नै आक्रोश व्यक्त गरेका अध्यक्ष दाहालले वर्तमान गृहमन्त्री थापालाई गद्दारको संज्ञा दिएका हुन् ।

प्रचण्डले सिद्धिसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएकोमा आत्मालोचित बन्दै दाहालले भने, ‘ पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पुर्याइनँ ।

सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महँगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्दारलाई लौ गृहमन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।’

प्रधानमन्त्री ओलीलाई फटाहा भन्दै दाहालले भने, ‘केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन् । केपी ओलीको मनभित्र पस्न सकिएन ।’

मुडभेटतिर एमाले, फुट्काे घाेषणा हुँदै !

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले भोलि शनिबार बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

तर नेपाल समूहले दुवै बैठकमा नजाने बताएको छ । बानेश्वरमा बसेको नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको साटो प्रधानमन्त्रीको निजी निवासमा राखेर दललाई निजीकरण गर्न खोजेकाले बहिष्कारको निर्णय गरेको छ ।

दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरे विचार गर्ने एक नेताले बताए ।

यस्तै २८ फागुनमा ‘विधान उल्लंघन गर्दै भएको निर्णय’ खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने नेपाल समूहको निर्णय छ । ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने’ बानेश्वर बैठकको निर्णयमा भनिएको छ ।

सर्वोच्च अदालतको फैसालाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेको थियो । नेपाल समूहले भने सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ को सांगठनिक संरचनामा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको यो समूहले त्यही कमिटी ब्युँताउने समेत निर्णय गरेको छ ।