हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले भारतको टाङमुनि छिरिनै सके: देउवा

रेडियो दर्पण संवाददाता

काठमाडौं, ८ बैसाख ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगाएका छन् । सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले भारत विरोधी नाराबाट उदाएका ओली अहिले भारतसामू त्वंशरणम् भएको बताए ।
सोही कारण प्रधानमन्त्री ओलीसँग कुनै राष्ट्रवाद नरहेको पनि स्पष्ट पारे । कम्युनिष्टहरु अवसरवादी भएकोले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने खालको परिस्थिति आइनसकेको उनले बताए । आशा नभएपनि सम्भावना भएकोले आफूले सरकार परिवर्तन गर्ने विषयमा छलफल गरिराखेको उनले बताए ।

उनले भने, ‘हिजो सबैभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाकोको त्वंशरणम् भए । भारत विरोधी नाराबाट झुल्केका ओली अहिले भारतको टाङमुनि छिरिनै सके । कहाँ छ उनको राष्ट्रवाद । त्यसकारण यिनीहरु राष्ट्रवादी पनि होइन, केही होइन । यिनीहरु खाली एउटा अवसरवादी हुन् ।

त्यसकारण हेर्दै जाऔं परिस्थिति के हुन्छ । मैले धेरै आशा पनि राखेको छैन र सम्भावना पनि उत्तिकै छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन् । आर्ट अफ पोसिबिलिटी पनि भन्छन त्यसकारण हामीहरु लागिरहेका छौं ।

आफूले प्रधानमन्त्री ओलीलाई हटाउन नचाहेको भन्ने कुरा सत्य नभएको पनि सभापति देउवाले बताए । ओली सरकारले हरेक ठाउँमा हतकडी लगाएर राजनीतिलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको पनि बताए । त्यसैले ओलीलाई हटाउने कुरामा सल्लाह भइराखेको र अहिले नै भन्न सक्ने स्थिति नरहेको बताए ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि सभापति देउवाले बताए । ‘नेपालमा धेरै ठूलो चुनौती आएको छ । प्रजातन्त्रमाथि खतरा आएको छ । एकातिर ओलीको सरकारले सम्पूर्ण राजनीति हरठाउँमा हतकडी लगाएर कन्ट्रोल गर्न खोजिरहेको छ । अर्कोतिर पाण्डामिकको पनि हाहाकार छ ।

त्यसैले ओलीलाई हटाउन चाहि हाटाइहाल्छु नि किन चाहँदैन मैले । कुरा के हो भने स्योरसट हुनुपर्यो । त्यो सम्बन्धमा सल्लाह पनि हुँदैछ,’ उनले भने, ‘अहिले मैले केही भन्न सक्ने अवस्था छैन । झुट बोलेर काम पनि छैन । मैले तपाईंहरुलाई भनिसके प्रचण्डको पार्टीले फिर्ता लिएकै छैन । बहुमतको सरकार छ त्यहाँ । अहिले सम्म बहुमतको सरकार भन्नु पर्यो नी फिर्ता निलए सम्म त । माओवादी र एमाले मिलेर बहुमत छ । के गर्ने अब । प्रचण्डले फिर्ता लिएका छैनन् ।