बाँकेमा कोरोना संक्रमणसंगै मृत्यु दर ह्वात्तै बढ्यो, थप दुईकाे मृत्यु

रेडियो दर्पण संवाददाता

बाँके ,१२ वैशाख ।

बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती र आइतबार बिहान गरेर उपचाररत थप दुई संक्रमित महिलाको ज्यान गएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की ४७ बर्षीया कोरोना संक्रमित महिलाको शनिबार राती १०ः३० बजे मृत्यु भएको छ ।

गत बैशाख १ गते कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा शनिबार राती उनको मृत्यु भएको ओलीले जानकारी दिए ।

त्यसैगरी, कोहलपुर नगरपालिका वडा नम्बर १० की ३६ बर्षीया संक्रमित महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।

फोकल पर्सन ओलीका अनुसार मृतक महिलालाई बैशाख १० गते कोरोना संक्रमण देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरी उपचार थालिएको थियो । उपचारकै क्रममा आज बिहान २ः३० बजे उनको मृत्यु भएको हो ।

योसङ्गै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।