प्रचण्ड के गर्दैछन् ?

रेडियो दर्पण संवाददाता

काठमाडौं, १२ वैशाख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो केही दिन चुपचाप छन् ।

दैनिकजसो सार्वजनिक कार्यक्रममा देखिने प्रचण्ड चुपचाप बस्नुले नेपाली राजनीतिमा ‘सुनामी आउनुअघिको सन्नाटा’ हो कि भन्ने अड्कलबाजी पनि गरिएको छ ।

केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने जिम्मा स्थायी समितिले प्रचण्डलाई दिएपछि उनी सार्वजनिक रुपमा खास सक्रिय देखिएका छैनन ।

प्रचण्ड सचिवालय स्रोतका अनुसार, प्रचण्ड अचेल निवासमै व्यस्त छन् । नेता, कार्यकर्तासँग भेटघाट गर्दै दिन बिताइरहेका छन् ।

पार्टीको विधानका बारेमा नेता, कार्यकर्तासँग उनले गम्भीर रुपमा छलफल गरिरहेका छन् । स्रोतले भन्यो, ‘अध्यक्ष प्रचण्ड अहिले निवासमै विधानबारे नेता, कार्यकर्तासँग सुझाव लिइरहनुभएको छ ।’

विधान फाइनल भएपछि स्थायी समिति बैठक राखेर निर्णय गर्ने तयारीमा प्रचण्ड छन् ।

कोरोनाका कारण सार्वजनिक कार्यक्रम सबै रद्द गरिएका छन् ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारी गर्दै ओली सरकार ढाल्न सक्रिय प्रचण्ड अहिले कांग्रेस र जसपाको निर्णयको पर्खाइमा छन् ।