काठमाडौं उपत्यकामा मात्रै १९१२ जनालाई कोरोना पुष्टि !

रेडियो दर्पण संवाददाता

काठमाडौं, १३ वैशाख ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

त्यस्तै नेपालमा आज एकै दिन ३५५६ जना कोरोना संक्रमित थपिएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर बिधिबाट ३४४२ जना र एन्टिजेन विधिबाट ११४ जना गरि कुल ३५५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १२४०० जनाको पीसीआर परिक्षण गरिएको छ भने ८९३ जनाको एन्टिजेन बिधिबाट परिक्षण गरिएको छ ।अहिलेसम्म कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ भने २ लाख ७७ हजार ९५१ निको भएका छन् भने ३१ सय ७६ जनाको मृ’त्यु भएको छ ।

अहिले सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ । त्यस्तै सोमबार गण्डकी प्रदेशमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ६९ जना, म्याग्दीमा ५ जना, नवलपुरमा १२ जना, तनहुँमा ५ जना, स्याङ्जामा ३ जना, लमजुङमा २ जना र पर्वतमा ५ जनामा कोराना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकीमा कूल संक्रमितको संख्या १७ हजार ८ सय ३८ पुगेको छ भने संक्रिय संक्रमितको संख्या ९३७ रहेको छ । अहिलेसम्म १६ हजार ६८६ जना निको भएका छन् भने ८८३ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।दाङमा एकै दिन १५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका १५२ जनामा कोरोना पोजेटिभ देखीएको छ । २५२ जनाको कोरोना परिक्षण गरिएको थियो । यो संगै जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ । कोरोना परिक्षण भएका मध्ये ७५ प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि हुने गरेको छ । पछिल्नो समय जिल्लामा कोरोना संक्रमणको दर उच्च देखीएको छ ।