कोरोना कहर : ८ जिल्लामा निषेधाज्ञा

रेडियो दर्पण संवाददाता

काठमाडौं, १३ वैशाख ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै विभिन्न ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी लागू हुने गरी र बाग्लुङ, कालिकोट र बर्दियामा आंशिकरुपमा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी निर्णय गरेको छ। हाल ९ बढी जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेको भएपनि निषेधाज्ञा वा लकडाउनको निर्णय ८ जिल्लामा भएको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार पछिल्लो समयमा सुर्खेतमा ३७० जना संक्रिय संक्रमित देखिएका छन् । ‘नेपालको दक्षिणी नाका बाँके जमुनाह नाकाबाट संक्रमित धेरै आउन थालेपछि निषेधाज्ञाको विकल्प भएर गरेका हौं,’ सिडिओ रिजालले लोकान्तरसँग भने ।

सुर्खेतमा भारतबाट आउने नेपालीले अनिवार्य बस्नु पर्ने भएकाले त्यसलाई छल्नको लागि पनि ‘हामी काठमाडौंबाट आएका हौं,’ भन्दै ढाँट्न थालेपछि कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न आफ्ठ्यारो परिस्थिति आएकाले निषेधाज्ञा जारी गरेको रिजालले बताए ।

सुर्खेतमा पछिल्लो समयमा स्टक रहेको अक्सीजन सकिएकाले अक्सिजन अभाव भएकोसमेत सिडियो रिजालले बताए ।
‘कर्णालीमा अहिले अक्सिजनको अभाव देखिएको छ, भारतबाट खेती गर्न नेपाल फर्किएका अधिकांशमा कोरोना संक्रमण देखिन्छ, जसलाई अक्सिजनको आवश्यक पर्छ त्यो अभाव छ,’ सिडिओ रिजालले लोकान्तरसँग भने ।
यस्तै निषेधाज्ञा जारी गरीएको अर्को जिल्ला बाँकेमा आजसम्म २ हजार संक्रिय संक्रमितहरु रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । भारतबाट नेपाल भित्रने नेपालीहरुलाई जिल्लाको मुख्य नाकाको रुपमा लिइने जमुनाह नाकाबाट दैनिकरूपमा २ हजार देखि ३ हजार भारत रोजगारी गर्न गएका नेपालीहरु भित्रिने गरेको सिडिओ गेलालले लोकान्तरलाई बताए ।

‘अहिले जमुनाह नाकाबाट दैनिक ३ हजारसम्म आइरहनु भएको छ,’ गेलालले भने,‘उहाँहरुलाई ज्वरो नापेर नेपाल भित्र्याउने गरेका छौं ।’

सिडिओ गेलालका अनुसार भारतबाट आउने नेपालीलाई हेल्थ डेस्कमा ज्वरो देखिए एन्टिजेन परिक्षण गर्ने त्यस्तालाई कोरोना भाइरसको संक्रमण देखिएको खण्डमा आइसोलेसनमा राखेर मात्रै घर पठाउने गरिएको छ । भने अन्यलाई सिधै घर जान दिइएको सिडिओ गेलालले बताए ।

बाँकेमा रहेका अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन, आइसियूलगायतका पूर्वाधारको विकास भइरहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङले बाग्लुङ नगरपालिकाका १२,१३, १४ नम्बर वडा अर्थात साविकको मलाचौर, पैयूपाटा, नारायणस्थान गाविस क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ ।
७ गतेदिख १० दिनको लागि उक्त क्षेत्रमा खाद्यान्न, तरकारी, दुध, औषधी,दाना ढुवानी, एम्बुलेन्स सेवा, कृषी तथा पशु उत्पादन लगायतका अन्य सवारी साधनहरुलाई निषेध गरेको जनाएको छ ।