मन्त्रिपरिषदको निर्णयः हवाइ उडान तत्काल बन्द नहुने, सीमा नाकाबाट आवतजावत खुलै

रेडियो दर्पण संवाददाता

काठमाडौं, १३ वैशाख ।

सरकारले हवाइ उडानमा रोक नलगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान नरोक्ने निर्णय गरेको एक मन्त्रीले गरे । तर आगामी दिनमा थप प्रतिकुल अवस्था आएको खण्डमा भने यो निर्णयमा पुनर्विचार हुनेछ ।

ती मन्त्रीका अनुसार आन्तरिक तर्फको हवाइ उडानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइनेछ भने त्यसबारेको निगरानी सम्बन्धित निकायले गर्नेछ ।
यस्तै विदेशबाट आउनेको हकमा नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा निगरानी गर्न कठिनाइ हुने भएकाले होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको हो ।

यसैबीच सरकारले तत्काल सीमा नाका पनि बन्द नगर्ने भएको छ । विदेशीको हकमा भने विशेष अवस्थामा बाहेक आवतजावत गर्न दिइने छैन । सीमाबाट भित्रिने नेपालीलाई स्थानीय तहले होम क्वारेन्टाइनमा राख्नेदेखि आवश्यक प्रवन्ध गर्नेछन् ।