ओलीको स्वेच्छाचारी क्रियाकलाप बन्द नभएसम्म हाम्रो अभियान बन्द हुँदैन : रावल

रेडियो दर्पण संवाददाता

काठमाण्डौ, १५ वेशाख ।

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरीतका क्रियाकलाप बन्द नभएसम्म आफूहरूको अभियान बन्द नहुने बताएका छन् ।

बुधवार नेकपा एमालेको माधव समुहका नेताहरूको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रावलले पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरीत गरेको गतिविधिका विरुद्ध देशव्यापी रूपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफूहरूको अभियान नरोकिने बताएका हुन् ।

उनले भने, ‘सर्वोच्च अदालतको फैसला विपरीत र नेकपा एमालेको विधान विपरीत केन्द्रीय कमिटीलाई भङ्ग गर्नुभयो । कथित आयोजक कमिटी बनाउनु भयो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टीकरण सोध्ने जति पनि गतिविधि गर्नुभएको छ, यी स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्ग निर्देशन, नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय विपरीतका गतिविधि हुन् । र यसको विरुद्धमा देशव्यापी रूपमा कार्यकर्तालाई नेकपा एमालेको सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाका लागि चलाएको अभियान सफलताको साथ अघि बढिरहेको छ । हामीले यसलाई कायम राख्नुपर्छ । जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइँदैन, तबसम्म हामी अघि बढ्नुपर्छ भन्ने कुरालाई फेरि पुष्टि गरेका छौँ ।’

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको बताए । उनले भने, ‘सरकारले यस्तो अवस्थामा औषधि उपचार, स्वास्थ्यकर्मीलगायतका काम गर्नुपर्थ्यो, त्यसतर्फ सरकारले प्रभावकारी रूपमा काम गरेको पनि देखिएन । सरकारले पनि यसमा प्रभावकारी रूपले काम गर्नुपर्छ भन्ने कुरामा पनि हामिले जोड दिदैँ त्यसका लागि आह्वान गर्ने निर्णय गरेका छौँ ।’

नेता रावलले अध्यक्ष ओलीले आफूहरूलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताए । नेपालको कानुनअनुसार ओलीले आफूलाई कारबाही गर्न नसक्ने उनको भनाइ छ ।