प्रचण्डकी धर्मपत्नी सीता फेरि अस्पताल भर्ना

रेडियो दर्पण संवाददाता

काठमाडौं, १६ वैशाख ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई सोडियम (नून) को मात्रा कम देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

स्वास्थ्य अवस्था स्थीर रहे पनि केही दिनदेखि रगतमा सोडियमको मात्रा घटेको कारण अस्पताल भर्ना गर्नुपरेको सुरक्षा स्रोतले बताएको छ ।

सोडियम कम भएपछि मानिसको शरिर शिथिल हुँदै कमजोरी महसुस हुन्छ । बिरामी बोल्न नसक्नेदेखि बेहोशसम्म हुनसक्ने चिकित्सकहरूले बताएका छन् ।

आज ४८ सय ९७ संक्रमित थपिए, उपत्यकामा मात्रै २ हजारभन्दा बढी

नेपालमा थप ४८ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा १ हजार ४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जनामा गरी कुल २ हजार ४७ जना रहेका छन् ।

यस्तै सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ७९ नमूनाको पिसिआर परीक्षण र ९ हजार ५५ जनाको एन्टिजेन परीक्षण भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ भने ७७३ संक्रमित निको भएका छन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी १९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस्तै बितेको २४ घण्टामा नेपालमा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ७७४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।