यीनै हुन नेपाली इन्जिनियर : जसले दिनरात नभनी ठड्याए ऐतिहासिक धरहरा !

रेडियो दर्पण संवाददाता

काठमाडौं, १६ वैशाख ।

सारा काठमाडौं जब सुतिरहेको हुन्छ, इन्जिनियर रमण महतो रातभरि जागै हुन्छन् । र, त साढे दुई वर्षमै ठडिएको छ, काठमाडौंको शान, मान र गौरव बनेको ऐतिहासिक धरहरा ।त्यसो त धरहरा साढे दुई वर्षमै बनेको भने पनि पाँच वर्ष बराबर समय हो।

किनभने रमणले दिन पनि भनेनन्, रात पनि भनेनन् । नेपालमा ‘डे-लाइट कल्चर’ छ । तर यसमा रातदिन दुवै सिफ्टमा एकनाश काम भयो ।धरहरा निर्माणको कन्ट्र्याक्ट पाएका रमणलाई पक्कै थाहा थियो- सबैका नजर धरहरा परियोजनामै छ । २०७२ वैशाख १२ मा धरहरा ढलेपछिको खिन्नता उनी बुझ्थे । काठमाडौँको एकल पहिचान लगभग हराएको थियो।

भग्नावशेषतिर हेरेर टोलाउँथे काठमाडौँबासी । धरहरा सिर्फ भवन मात्र थिएन, देशकै धरोहर थियो । त्यसैले उनले रातदिन नभनीकन काम गरे ।त्यसो त धरहरा पुनर्निमाणको जिम्मा पाएको जीआईईटीसी–रमण कन्स्ट्रक्सन चाइनिज कम्पनीसँगको ज्वाइन्ट भेन्चर हो । तर यसको निर्माण नेतृत्व नेपालीले नै गरे । सिमेन्ट छड, गिटी बालुवा पनि नेपालकै प्रयोग गरिएको छ, प्रविधि विदेशी।

सिभिल हस्पिटल बनाइरहेको चाइनिज टोलीले नेपाली मौलिकता पक्कै महसुस गरेको थियो । नेपाली निर्माण टोली ३० वर्षसम्म देशबाहिर काम गरेको अनुभवी पनि थियो ।रमणको निर्माण कम्पनीको सत्प्रयासमा ६ वर्षमै धरहराले आफ्नो उचाइ पाएको छ।

वैशाख १२ गते नघाएको भए सात वर्ष लाग्थ्यो । त्यसैले प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवसको अवसर पारेर ११ गते नै लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पवृष्टि गरी यसको उद्घाटन गरे ।संयोग के भने प्रधानमन्त्रीकै हैसियतमा ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए भने २०७५ पुस ५ गते उनले प्रधानमन्त्रीकै हैसियतमा यसको शिलान्यास गरेका थिए।

स्थिर सरकार हुनुको एउटा उदाहरण धरहराको उद्घाटन पनि उनकै हातबाट भयो ।प्रधानमन्त्रीले उद्घाटन भाषणमा यथासमयमै धन्यवाद र स्याबासी मात्र दिएनन्, बाँकी काम पनि समयमै सक्न निर्देशन दिए । ‘एउटै प्रधानमन्त्रीले शिलान्यास र उद्घाटन गर्न पाएको यो पहिलो र बिरलकोटी अवसर हो,’ रमण भन्छन्, ‘धरहरा पुनर्निर्माण भए पनि पार्किङ, क्याफ्टेरिया आदि संरचना बनिसकेको छैन ।

हाम्रो म्याद पुससम्म छ । तर प्राविधिक झमेला भएन भने त्यो भन्दा चाँडै सक्छौं ।’त्यसो त २०७७ माघ २ गते नै धरहरा चढेर अवलोकन गर्ने प्रधानमन्त्रीको दृढ सपना थियो । तर त्यतिबेला २० तला मात्र बनेको थियो, दुई तला थपिन बाँकी थियो ।विश्वव्यापी कोरोना महामारीका कारण मुलुकभरि लकडाउन भयो । त्यस बेला धरहरा पुनर्निर्माणको काम दुई महिना ठप्प भयो ।

लकडाउन खुल्नु एक हप्ता अगाडि बर्दिया र सर्लाहीबाट कामदार झिकाइएको थियो । तर सरकारी कागजपत्र भए पनि बीचमा सरकारी निकायबाटै अवरोध झेल्नुपर्यो ।बीचमा यसको डिजाइन पनि बदलियो । सुन्धाराको माथिपट्टी क्याफ्टेरिया तोकिएको थियो । धरहरा नजिकै भयो भन्ने गुनासो आएपछि त्यो ठाउँ बदलियो । त्यसो त सुन्धारा र धरहरा ठाउँका नाम मात्र होइनन्, यिनमा परम्परा पनि जोडिएका छन् ।

स्थानीयको माग अनुसार उपाकु मार्ग पनि निर्माणमा थपियो ।यसबीचमा कति अवरोध आए, कति संघर्ष भए, उनले हिसाबकिताब गरेका छैनन् । सबैभन्दा ठूलो कुरा त दिउँसो गाडी ‘मोबिलाइज’ गर्न गाह्रो थियो । उनले नेपाली सेनामार्फत टुँडिखेलको ग्राउन्डमा सरसामान बिसाउने ठाउँ पाए । त्यसैले उनी पहिलो झमटमै सेनालाई धन्यवाद दिन्छन् ।

धरहरा निर्माणका लागि दैनिक २ देखि ४ सयसम्मको जनशक्ति खटिएका थिए ।रमणका अनुसार राष्ट्रिय गौरवको आयोजना मानिएको धरहरालाई व्यापारिकभन्दा पनि स्वाभिमान खडा गर्ने हिसाबले काम गरिएको छ । बिहान बेलुका टहलिने, हावा खाने, जगिङ, योगा आदिका लागि ठाउँ हुनेछ ।धरहरा पुनर्निमाणमा उनी एकल श्रेय लिन चाहँदैनन्, नेपाल सरकार, पुनर्निमाण प्राधिकरण, नेपाली सेना लगायत सबै शुभचिन्तकको चाहनाका कारण यो सपना पूरा भएको उनको भनाइ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई ३ अर्ब ४८ करोड रुपैयाँमा धरहरा निर्माण गर्ने ठेक्का दिएको थियो ।सबै निर्माण सम्पन्न नभएकाले यसमा नाफाघाटाको हिसाब उनले गरिसकेका छैनन् ।’फाइदा मात्र सोचेको भए मैले यो काम पाउँदैनथे । जब तपाईं दिन सक्नुहुन्न, केही पनि पाउनुहुन्न । यो मेरो व्यवसायको मन्त्र हो,’ उनी भन्छन्, ‘अहिले फाइदा र घाटाको कुरै छैन ।

केही काम बाँकी नै छ । तर घाटै लागे पनि मैले नाम, इज्जत र सम्मान कमाइसकें ।’विक्रम संवत् १८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झना स्वरूप ११ तलामा निर्माण गरेको धरहरा १९९० को भूकम्पमा आंशिक ढलेर ९ तलामा सीमित भएको थियो । त्यतिबेला प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणाले नौ तला कायम गरेर दुई वर्षपछि पुनर्निर्माण गरेका थिए ।अहिलेको धरहरा बाहिरबाट हेर्दा ११ तले देखिए पनि भित्र २२ तला छन् । त्यसमा २ वटा लिफ्ट राखिएका छन् ।

जमिनमुनि २ तला छन् । यसको उचाइ १४५ फिटको छ । अपांगमैत्री धरहरामा वृद्धवृद्धाका लागि छुट्टै व्यवस्था गरिएको छ । दुईवटा लिफ्ट सहितको नयाँ संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था छ ।यसअघिको धरहरा साढे ४ रोपनी क्षेत्रफलमा रहेको थियो भने नयाँ धरहरा क्षेत्र ४२ रोपनीमा फैलिएको छ ।

धरहराको २२ औं तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंग राखिएको छ ।दुई सय वर्ष इतिहास बोकेको धरहराको वरपर विश्रामस्थलसहितको बगैंचाको हुनेछ भने संक्षिप्त ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ । त्यसैगरी ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्छ ।हुन त ‘टावर’ बनाउने काम नयाँ थियो सबैजसो निर्माण कम्पनीका लागि ।

रमण कन्सट्रक्सनले त्यो बिलकुलै नयाँ र जोखिमयुक्त कामको जिम्मा लियो । २०४७ मा धनुषाका बलराम महतोले स्थापना गरेको रमण कन्स्ट्रक्सनका कार्यकारी प्रमुख हुन्, उनकै छोरा ४० वर्षीय रमण महतो ।अमेरिकामा १५ वर्ष बसेर डिजाइन कम्पनीसमेत सञ्चालन गरेका रमण आफैं डिजाइन इन्जिनियर हुन् । बुबाको कामलाई साथ दिन नेपाल आएका उनले कम्पनीको मुख्य जिम्मेवारी सम्हाले ।

भूकम्पले धरहरा भत्काउँदा उनको पनि मन दुखेको थियो । र, पुरातात्त्विक महत्व बोकेको धरहराको डिजाइनसमेत उतारेका थिए । नाफा नराखी बनाउन सक्ने गरी टेन्डर हालेका थिए । नभन्दै पर्यो पनि ।यसबीचमा आएका नकारात्मक खबर चिर्दै बुबा बलराम र भाइ पवनको साथमा रमणले छिटो र सरल तरिकाले नेपालीहरूको धरोहर उठाउने सफलता पाए ।

सबैभन्दा ठूलो कुरा त निर्माण व्यवसायीले समयमै काम गर्दैनन् भन्ने कुरा खण्डित भएको छ । नेपाली निर्माण व्यवसाया धेरै ‘ब्रेक थ्रु’ गरेका छन् उनले । खासगरी १२–१२ दिनमा एक–एक तला उठाए ।नेपालमै सबैभन्दा बढी निर्माण सामग्री भएको रमण कन्स्ट्रक्सन प्रालिले देशका ठूला विकास परियोजनामा गरेको उत्कृष्ट कार्यको मूल्यांकनस्वरूप नेपाल इन्फ्रास्टक्चर एन्ड कन्स्ट्रक्सन एक्सेलेन्स (नाइस) अवार्ड २०१९ प्राप्त गरेको थियो ।

रमणले अहिले काठमाडौं चक्रपथभित्र मेलम्ची खानेपानीको काम गरिरहेका छन् । एक लाख धुरीको घरसम्म पानी पुर्याइसकेका छन् । उनले जनकपुर–जयनगर रेलवे पनि बनाए । बुटवल–बेलवास सडक सम्पन्न गरे ।उनका कतिपय प्रोजेक्टले समयसीमा नाघेका छन्, कतिमा बोनस पनि खाएका छन् । उनको भनाइमा निर्माण व्यवसायीको काम भनेको २० प्रतिशत मात्र हो । बाँकी काम गर्न सबै निकायको समन्वय चाहिन्छ, जबर्जस्ती काम गर्न मिल्दैन । ढलान गरौं, डन्डी बाँधौं भनेर पनि सोध्नुपर्छ ।

त्यसको उदाहरणस्वरुप उनी भेरी बबई डाइभर्सनको नाम लिन्छन् ।सर्वसाधारणका लागि कहिले खुला हुन्छ, यसको यकिन जवाफ भने रमणसँग छैन । यसको व्यवस्थापन काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिने उनको प्रारम्भिक बुझाइ छ । महानगरले व्यवस्थापनको जिम्मा कसलाई दिन्छ ? उनलाई थाहा हुने कुरा पनि भएन ।यसको संरक्षणका लागि सर्वसाधारणले दुई सयदेखि पाँच सय रुपियाँसम्म तिर्नुपर्ने उनको अनुमान छ ।

धरहरा पुननिर्माणमा जीवनको महत्त्वपूर्ण समय सुम्पिएका सम्पूर्ण कामदारका परिवारलाई सम्मानस्वरुप आजीवन सदस्यता दिइनुपर्ने उनको मत छ ।धरहरा कति सुरक्षित होला त ? रमण आफूले ‘नढल्ने धरहरा’ बनाएको जिकिर गर्छन् । ‘निर्माण व्यवसायबाट अलग भइसकेका बुबा दिनभरि हेर्नुहुन्थ्यो । कामदारबाट त्रुटि होला भनेर मलाई निद्रा लाग्दैनथ्यो । राति दुई बजे पनि साइटमा जान्थें । जस्तोसुकै भूकम्प यसले धान्छ,’ उनी भन्छन्, ‘नयाँ धरहरामा एम–फिप्टी कंक्रिट आरसीसी टावर छ । यो क्रंकिट र डन्डी नकुहिन्जेल उभिन्छ । रोमन अम्पायरका भवन दुई हजार वर्षसम्म टिकेका छन् । म चाहन्छु, यो हजारौं वर्ष टिकोस् ।’