कतै नलेखिएका साहसी साधारण नारीहरूका कथा

रेडियो दर्पण संवाददाता

-शशी के.सी

प्रत्येक बर्ष मार्च ८ मा “अन्तराष्ट्रिय नारी दिवस” संसारभरी बिंभिन्न कार्यक्रम गरेर मनाईन्छ।यस दिन नेपाल लगायत संसार भरमा केही उत्कृष्ट काम गरेका नारीहरूलाई पुरस्कार आदी दिएर सम्मान गरिन्छ।तर हामीले जीवन कालमा कति साधारण नारी भेटेका होलाउॅं,जसले गरेको साहसी कदमहरूलाई न कसैले महत्व दिएको हुन्छ,न कसैले तैंले गरिस है भनिदिएको हुन्छ,नत कुनै पुरस्कार,सम्मान नै पाएका हुन्छन्।त्यस्तै नारी मध्ये चारजनाको बारेमा केही लेख्दैछु।

पहिलो नारी

उॅंहालाई सन् २००३ तिर मेरिल्याण्डमा,युनिभर्सिटी अफ मेरिल्याण्डमा पढ्ने केही नेपाली बिधार्थीहरूको जमघटमा भेटेंको थिंए।एकजना भाई सॅंग आउनु भएको थियो।पहिले त उसको मम्मी होला सोचेको थिंए।उॅंहा त्यो भाईको नेपाल घरको छिमेकी आन्टी र अहिले एक जना वकिलको घरमा केटाकेटी हेरेर बस्नु हुने रहेछ।हप्ताको दुईदिन छुट्टी हुंदा कहिले काहीं भाईकोमा आउनु हुने रहेछ।

देख्दै भद्र नारी,बिस्तारै बोल्ने।अमेरिका आएको केही बर्ष भएको रहेछ।वकिलले अमेरिका बस्ने कानुनी आधार ( ग्रीनकार्ड) गरिदिंदैछ भन्नु हुनथ्यो।कुरा गरेर बसिरहॅंदा पर्सबाट ६-७ महिनाको बाबुको फोटो देखाउनु भयो,नाति रहेछ उॅंहा अमेरिका आए पछि छोरीको बिबाह भएछ।बिबाहमा जान पाउनु भएन र अहिले नाति पनि जन्मिसकेछ।कहिले नाति भेटौं जस्तो भएकोछ भन्नु हुन्थ्यो।अहिले जस्तो भएत अनुहार नै देखादेख गरेर कुरा गर्न मिल्थ्यो।त्यो बेला त यसो कार्ड किनेर १०-१५ मिनेट कुरा गर्ने त हो।त्यो पनि बोल्दाबोल्दै सकिन्थ्यो।

अरू पनि घरको बारेमा धेरैकुरा भन्नु भयो।लाग्यो,उॅंहालाई मनको बह कसलाई भनौं जस्तो भएको रहेछ।हामी २-३ जनाकेटीलाई देखेर सबै दुख सुख पोख्नुभयो। उॅंहाले अमेरिका बाट कमाएर पठाएको पैसाले नै नेपालको घर चलिरहेको रहेछ।सायद छोरीको बिबाह पनि उॅंहा कै कमाईले भयो।अमेरिका बस्ने कुनै रहर पनि नभएको,बसि रहॅंदा कुनै खुशी पनि छैन।तर घरको आर्थिक अवस्था धान्न अमेरिकामा संघर्ष गरिरहनु भएको एक साहसी साधारण नारी।

त्यसपछि उॅंहासॅंग कहिल्यै भेट भएन।अहिले लेखिरहॅंदा सोच्छु,कहां हुनुहुन्छ होला? यत्रो अठार बर्षमा त ग्रीनकार्ड आदी सबै बनेर नेपाल कति पटक पुग्नु भयो होला ? नाति,छोरीसॅंग भेट भयो होला? आदी।

दोस्रो नारी

उॅंहालाई एउटा बिबाह पार्टीमा भेटेको थिंए।नेपालमा गृहणी, श्रीमान् सानो तिनो जागीरे,खान लगाउन त पुगेकै रहेछ।तर एक छोरा नेपालमा डाक्टर पढ्दै रहेछ र छोरी अष्ट्रेलियामा नर्स पढ्न गएकी रहेछिन्।रिन पान गरेर पढाउॅंदै रहेछन्।उॅंहालाई अमेरिका आउने मौका मिलेछ।खै कसरी त भन्नु भएन।उॅंहाको उद्देश्य जति धेरै अमेरिका बस्न सकिन्छ बस्ने रकाम गरेर कमाएर रिन साथै छोराछोरीलाई पढाउने।एक बर्षदेखि न्युयोर्क शहरको एकजनाको घरमा लिभिगं न्यानी ( उनीहरूसंगै बसेर बच्चा हेर्ने काम) गर्नुहुनेर हेछ।काम गर्ने ठाउॅंमा खान,बस्न पाउॅंदा त तलब चोख्खै बच्ने भयो।जे भए पनि परेको बेला हिम्मत गरेर यसरी काम गर्नु ,उॅंहालाई साहसी नारी नै माने।

तेस्रो नारी

उॅंहालाई पहिलो पटक सन् २००४ तिर मेरिल्याण्डको एक सपिगं मलमा भेटेको र मल जांदा संधै भेटेर कुरा गर्थें।उॅंहाको मलमा बिच तिर व्याग,चस्मा,पर्स, नक्कली गहना आदी सबै थोक भएको आफ्नै सानो पसल थियो।अमेरिका आएको ४बर्ष भएको रहेछ।कानुनी रूपमा बस्नलाई मिलाई रहनु भएको रहेछ।नेपालमा चितवनतिर घर र दुई छोरी ६ र ८ क्लासमा पढ्ने रहेछन्।श्रीमान् दिनरात रक्सि खाएर झगडा मात्र गर्ने भएर घर छोडेर माइतमा दुई छोरीहरू लिएर बस्नु भएको रहेछ।खै के,कसरी अमेरिका छिर्नु भयो।छोरीहरू चाहीं माइतीमा बुबाआमा सॅंग रहेछन्।

भेटहुंदा सॅंधै छोरीहरूको कुरा गरिरहनु हुन्थ्यो।सन् २००८ तिर एकदिन त म यो महिना सॅंधैको लागि नेपाल जाने भन्नु भयो।नेपालमा छोरीहरू पनि ठुला भए।आमा पनि निकै बुढी हुनु भयो।अब त सम्हाल्न सक्दिन भन्न थाल्नु भयो रे।अनिअमेरिकामा कानुनी रूपमा बस्ने पनि हत्तपत्त मिल्ने जस्तो देखिएन रहेछ।मैले ठिक निर्णय गर्नु भयो भने।आखिर जे गरिरहनुभएको थियो सबै छोरीहरूको लागि त थियो।फेरी कानुनीरूपमा अमेरिका बस्न नमिल्नेले बसिरहॅंदा कुनैबेला समस्या पनित पर्न सक्छ।

धेरै बर्ष पछि उॅंहाको चिनजान एकजना साथी भेटेको थिंए।के छ त त्यो बहिनीको हालखबर सोध्दा,अमेरिकाबाट गए पछि चितवनमा आफ्नै पसल खोल्नु भएछ। घरपनि बनाउनु भएछ,जेठी छोरीको बिबाह गरिदिनु भएछ।अहिले पनि उॅंहा पसलनै गर्दै र कान्छी छोरी व्यांकमा जागीरे छिन् रे।यति सुने पछि न भन्नुत साहसी नारी ?

चौथो नारी

उनी त झन साहसी एकल नारी।श्रीमान बितेपछि साना दुई छोरीहरू हुर्काउने उनको जिम्मा।सबै भन्दा पहिला त घरमा नै लडाईं लडिन आफ्नो भागको संम्पत्तिको लागि।छोरी मात्र छन् भनेर अंशमा ठग्न लागेका थिए।आफ्नो भागको जग्गा पाए पछि बेचेर माइत नजिकै जग्गा किनेर घर बनाइन।घर त भयो तर आय श्रोत के गर्ने त? उनको एक जना साथी इजराइलमा बुढाबुढी हेर्ने केयर गिभरको काम गर्ने रहिछन्।उसैको सल्लाहमा अहिले इजराइल पुगेर काम गर्दैछिन्।राम्रोआम्दानी छ।संन्तुष्ठ छिन्।छोरीहरू बोडिगंमा बसेर पढ्दै छन्।छुट्टीमा मामा घर जान्छन्।उनी पनि बेलाबेलामा नेपालआउने जाने गर्छिन एकल नारीले केही गर्न सक्दैनन् भन्नेहरूको लागि उनी एक साहसी साधारण नारी।

यी त केही उदाहरण मात्र हुन्।समाजमा धेरै तेस्ता नारीहरू छन्, जो कसैलाई केही गुनासो नगरि साहसी भई जिन्दगी बांचिरहेछन्।गिट्टी कुर्दै,गलैंचा बुन्दै,ठेलामा तरकारी बेच्दै,मकै पोल्दै र अहिले त झन् काठमाडौंमा घर घरमा गएर भांडा माझ्ने,लुगा धुने काम गर्ने र घरको आर्थिक भार धान्ने नारी धेरै छन्।पढ्दै,जागीर खांदै,घर परिवार,बच्चा हुर्काउॅंदै उन्नतिगर्ने पनि धेरै छन्।नारीले आंटे गर्न नसक्ने केही छैन्। सबैलाई नारी दिवसको शुभकामना।