राष्ट्रपति ओलीको सहयोगी मात्रै हुनुभयो : देउवा, शीतलनिवासलाई पार्टी कार्यालय बनाइयो : सांसद

रेडियो दर्पण संवाददाता

काठमाडौं, २६ बैशाख ।

नेपाली कांग्रेसको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरू राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति आक्रोशित बनेका छन् । बैठकमा संवैधानिक जिम्मेवारी बहन गर्नुपर्ने दायित्व भए पनि राजनीतिक दलको प्रवक्ताझैँ बनेको भन्दै राष्ट्रपतिको आलोचना भएको हो ।

बैठकमा बोल्दै संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रपति भण्डारी दलको विवाद मिलाउन सक्रिय रहेको भन्दै आलोचना गरेका थिए । ‘उहाँको दायित्व संविधानको रक्षा गर्ने हो । उहाँ त ओलीको सहयोगी मात्रै निस्किनुभयो । पार्टीको झगडा मिलाउँदै उहाँ हिँड्ने होइन नि,’ देउवाको आलोचना थियो ।

बैठकमा सांसदहरूले राष्ट्रपति कार्यालयलाई पार्टी कार्यालय बनाइएको भन्दै आलोचना गरेका थियो । बैठकमा सांसद डिला संग्रौलाले राष्ट्रपतिले पार्टी कार्यकर्ताको भूमिका निर्वाह गरेको भन्दै आलोचना गरेकी थिइन् । ‘राष्ट्रपति संवैधानिक जिम्मेवारीबाट विमुख भएर पार्टी कार्यकर्ताजस्तो बन्नुभयो । पार्टीका विवाद समाधानका लागि कोठे बैठकमा सक्रिय हुँदै उहाँले शीतलनिवासलाई पार्टी कार्यालय बनाइसक्नुभएको छ,’ उनको भनाइ थियो ।

राष्ट्रपतिको आलोचना गर्नेहरूमा सांसदहरू गगन थापा, मिन विश्वकर्मालगायत थिए । राष्ट्रपति भण्डारी एमालेको विवाद मिलाउन सक्रिय छिन् । एमाले विभाजन निर्णायक मोडमा जाँदा उनले अध्यक्ष केपी ओली नेता माधवकुमार नेपाल महासचिव ईश्वर पोखरेललगायतसँग छलफल गरेकी थिइन् । नेता नेपाललाई एमालेको अभिभावक र नेताको हैसियतमा पार्टी एकता जोगाउन उनले आग्रह गरेकी थिइन् ।