कोरोना बिरामीका लागि एफएनसीसीआईले सुरू गर्‍यो ‘हेल्लो डाक्टर’

रेडियो दर्पण संवाददाता

काठमाडौं, २६ बैशाख ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरू गरेको छ। कोभिड-१९ को संक्रमणबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर महासंघले उक्त अभियान सुरू गरेको हो। Advertisement मुलुक विपत्तिमा पर्दा संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी सर्वसाधारणको सेवामा यो अभियान सुरू गरिएको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा आजबाट ‘हेल्लो डाक्टर’को शुभारम्भ भएको छ। थप अन्य कार्यक्रमसमेत ल्याउने तयारीमा महासंघ रहेको छ। ‘हेल्लो डाक्टर’ कार्यक्रममा भाइबरको सहकार्य रहेको छ। जसमा ‘डाक्टर अन कल’का चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन्। हेल्लो डाक्टरमार्फत् स्वास्थ्य परामर्श दिने कार्य भोलि वैशाख २६ गते आइतबारबाट सुरू हुने महासंघले जनाएको छ।

‘कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत् भरपुर सहयोग लिन सक्ने छन्। हेल्लो डाक्टर, भाइबरमार्फत् कोभिड संक्रमित बिरामी र डक्टरबीच प्रत्यक्ष सम्पर्क गराइ परामर्श दिने कार्य गरिनेछ,’ महासंघले भनेको छ। सुरूमा पाँच जना डाक्टरबाट परामर्शको कार्य थालनी गरिने महासंघले जानकारी दिएको छ। त्यसका लागि विहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ। नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइवर नम्बरमा म्यासेज गर्नुपर्ने महासंघले जनाएको छ।

‘सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ। तत्पश्चात् डाक्टरहरूले भिडियो कलमार्फत् बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिने छन्,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनुपर्नेछ। यो सेवा निःशुल्क हुने र देशभरकै संक्रमितले सेवा लिनसक्ने महासंघले जनाएको छ। ‘संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत् डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थामाबाहेक अस्पतालसम्म जानु नपर्ने वातावरण बनाइदिने उद्देश्यअनुरूप यो कार्यक्रमको थालनी गरिएको हो। यसबाट कोभिड संक्रमण नियन्त्रणमासमेत सहयोग पुग्ने विश्वास महासंघको छ,’ विज्ञप्तिमा उल्लेख छ।