कोरोनालाई जितेर नेता खनाल घर फिर्ता

रेडियो दर्पण संवाददाता

काठमाडौं, २८ बैशाख ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता खनाल संक्रमण मुक्त भइ डिस्चार्ज भएका हुन् ।

उनी यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल संक्रमण मुक्त भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज भएका जानकारी दिए ।

सङ्क्रमण भएपछि उनलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो ।