एमाले कार्यदलको बैठक सकियो, के-के भयो छलफल

रेडियो दर्पण संवाददाता

काठमाडौं, ४ जेठ ।

नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्र्तविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्र्तविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको कार्यदल सदस्य भिमबहादुर रावलले बताउनुभयो । बैठकले पार्टीमा देखिएका समस्याहरुलाई समाधान गरी एकताबद्ध बनाउन आग्रह समेत गरेको छ । त्यस्तै बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागु गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यो बैठकले यसको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागु गर्ने तय गरेको छ । त्यस्तै गरेर पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको छ । त्यसको सँगसँगै पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्र्तविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने पनि निर्णय गरेको छ ।’

कार्यदलका अर्का सदस्य प्रदीपकुमार ज्ञवालीले पनि बैठकले कार्यदलको कार्यविधि र आचार संहिता तयार गरी लागु गर्ने र पार्टीमा असमझदारी बढ्ने, असहयोग बढ्ने खालको गतिविधि र अभिव्यक्ति नदिन र समस्या समाधानका लागि सबैको तर्फबाट सहयोग/सदभावका लागि अपिल गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचार संहिता तयार गरेर लागु गर्ने । कार्यदलले पार्टीको समस्या समाधान गर्न काम शुरु गरिसकेको परिप्रेक्षमा सबै नेता कार्यकर्ताहरुले यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनका निम्ति योगदान गर्ने । आपसमा असमझदारी बढ्ने, असहयोग बढ्नेखालका कुनैपनि गतिविधिहरु र अभिव्यक्तिहरु नदिने, र समस्या समाधानका निम्ति सबैको तर्फबाट सद्भाव र सहयोगका लागि अपिल÷आव्हान गर्ने निर्णय गरेर आजको बैठक सकिएको छ ।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ ज्ञवालीले बागमति प्रदेशको राष्ट्रिय सभा सदस्यको लागि जेठ ६ गते हुने उपनिर्वाचनमा माधव नेपाल पक्षले कसलाई भोट हाल्ने भन्ने विषयमा कार्यदलमा छलफल नभएको बताउनु भयो । उहाँले पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापालाई सबैले मतदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘पार्टीको एकमात्र आधिकारिक उम्मेदवार हुनुहुन्छ रामबहादुर थापा । नेकपा(एमाले)को तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिहरुले उहाँको पक्षमा मत हाल्नुहुन्छ । हामि विश्वस्त छौँ ।’

नेकपा(एमाले)मा माधव समुहले पार्टीलाई माओवादी केन्द्रसँगको एकता पूर्वको अवस्थाबाट सञ्चालन गर्नुपर्ने माग गर्दै आएकोमा बैशाख ३१ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध गरी लैजाने सहमति गरे अनुरुप जेठ २ गते दश सदस्यीय कार्यदल बनाउनुभएको थियो । कार्यदल सदस्यहरुमा केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन् भने माधव नेपालको तर्फबाट भिम रावलको नेतृत्वमा सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त रहेका छन् । मंगलबारको बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल काम विशेषका कारण अनुपस्थित भएको रावलले जानकारी दिनुभयो । कार्यदलको बैठक बुधबार पनि बस्ने भएको छ ।