काठमाडौं, ५ जेठ ।
काठमाडौं आसपासमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। लमजुङमा केन्द्र बनाएर फेरि भूकम्प गएको हो। आज बिहान लमजुङको भुलभुले आसपास नै केन्द्रबिन्दु बनाएर ८ बजेर २६ मिनेट जाँदा ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यसअघि आजै बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का गण्डकी प्रदेश, लुम्बिनीका केही जिल्ला र काठमाडौं उपत्यकासहित केही जिल्लामा महसुस गरिएको छ। भूकम्पमा केही घर भत्किनुका साथै केही स्थानीय घाइते भएका छन्।
बुधबार बिहानै भूकम्प जाँदा लम्जुङमा सात वटा घर भत्केका छन्। भूकम्पले घर भत्किँदा तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छन्।
अर्का एकजना घाइतेको नाम खुलेको छैन। लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन्। घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले बताए। उनका अनुसार भत्किएका सबै कच्ची घर हुन्। घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको उनले बताए। गाउँमा कच्ची घर भएकोले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए।