तत्काल प्रधानमन्त्री शेर बहादुर देउबा बनाउनुको विकल्प छैन: नारायणकाजी श्रेष्ठ

रेडियो दर्पण संवाददाता

काठमाडाैं, ८ जेष्ठ ।

नेकपा (माओवादी केन्द्र) का नेता श्रेष्ठले नेपाली कांग्रेसका सभापति देउवालाई तत्काल प्रधानमन्त्री बनाउनुको विकल्प नहुने बताएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बहुमत प्रतिनिधिसभा सदस्यको हस्ताक्षरको समर्थनले शेर बहादुर देउवालाई प्रधानमन्त्रीको दाबी गरेकोले राष्ट्रप्रतिले संवैधानिक रुपमा तुरून्त देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताए।

१ सय ४९ सांसदको हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनको दलका ६१ र माओवादी केन्द्रका ४९ जना सांसदको समर्थनसँगै जनता समाजवादी पार्टीका १२ र नेकपा एमालेका २६ सांसदले समर्थन गरेका छन्।

कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्ति अनुसार एमाले नेपाल समूहका २७ मध्ये २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ। जनमोर्चाबाट दुर्गा पौडेल सांसद छिन्।

प्रधानमन्त्रीको निर्णयानुसार राष्ट्रपतिद्वारा आज अपराह्न ५ बजेसम्मको समय दिई संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन दाबी गर्ने आह्वान संवैधानिक रुपमा त्रुटिपूर्ण र राजनीतिक रुपमा दुराशयपूर्ण नै छ । तथापि, हाम्रो आजको व्यवस्थामा अदालतको निर्णय सहमत, असहमत जे भए पनि लागु गर्ने रहेको र सर्वोच्च अदालतले आज ५ बजेभित्र अन्तरिम आदेश दिनुपर्ने यस विषयमा परेको रिटमा तीन बजेसम्म रिट दर्ता नै नगरेको स्थितिका कारण नेका, हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाको संस्थागत पार्टी निर्णयसहित जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादवसहित र नेकपा (एमाले)का झलनाथ खनाल, माधव नेपालसहितका बहुमत प्रतिनिधिसभा सदस्यहरु (१४९) को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिएको छ । राष्ट्रप्रतिले संवैधानिक रुपमा तुरुन्त देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको विकल्प छैन,’ उनले भनेका छन् ।