दुई महिना मेलम्चीको पानी वितरण नहुने

रेडियो दर्पण संवाददाता

काठमाडौं, २२ जेठ ।

काठमाण्डौ उपत्यकामा दुई महिना मेलम्चीको पानी वितरण नहुने भएको छ । सुरुङमार्गको परीक्षण गर्न लागिएकाले पानी वितरण रोकिन लागिएको हो ।

सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएकोले आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण रोक्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

मेलम्ची खानेपानी आयोजनाका डिभिजनल इञ्जिनियरसमेत रहेका प्रवक्ता पन्तका अनुसार १५ दिन त सुरुङको पानी खाली गर्न नै लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिए त्यसको सुधारको काम गर्न थप समय लाग्न सक्ने हुँदा २ महिना काठमाडौँ उपत्यकामा पानी निकासी रोकिन उनले बताए ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने भएपनि तत्काल उद्घाटनका लागि हतारो गर्दा सुरुङ परीक्षण विनै सञ्चालन गरिएको थियो । चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर फेरि खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो । त्यसकारण पनि एक पटक सुरूङ परीक्षण जरुरी भएको पन्तले बताए ।

अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आउने गरेकामा दुई महिना मेलम्चीको पानी राेकिँदा काठमाडौँवासीले पानीको अभाव भोग्नु पर्ने अवस्था बनेको छ ।