उम्मेदवारीबारे छलफल गर्न देउवाले निधिलाई बोलाए

रेडियो दर्पण संवाददाता

काठमाडौँ, ५ असार ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे छलफल गर्न उपसभापति विमलेन्द्र निधिलाई बोलाएका छन्।

देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार पुनः सभापतिमा आफैं उठ्ने बताउनका लागि देउवाले निधिलाई बोलाएका हुन्। सभापतिमा निधिले उठ्ने यसअघि बताइसकेका छन्। आफ्नो पूर्वनिर्णयबाट पछि नहट्ने उनले बताउँदै आएका छन्।

एउटै समूहमा रहेका निधिले उम्मेदवारी दिने भएपछि संस्थापनपक्ष कमजोर बन्ने आकलन गरिएको छ। देउवाले निधिलाई सभापतिको उम्मेदवार नबन्न आग्रह गर्ने बताइएको छ।

शनिबार बिहानमात्रै देउवाले आफूनिकट प्रदेश १ का नेताहरु बोलाएर फेरि सभापतिमा उठ्ने बताएका थिए। निधिसहित संस्थापन पक्षका प्रदेश २ का नेताहरु देउवानिवास पुगेको बताइएको छ। बैठक २ बजेदेखि बोलाएको बताइएको छ।

आफूनिकटका सातै प्रदेशका केन्द्रीय नेताहरुलाई देउवाले छलफलका लागि बोलाउने एक नेताले जानकारी दिए।

कांग्रेसले भदौ १६ देखि १९ सम्म १४ औं महाधिवेशन गर्ने गरी समय निर्धारण गरिएको छ।