बाढी प्रभावित परिवारका लागि बागमती सरकारले छुट्यायो ५ करोड

रेडियो दर्पण संवाददाता

काठमाडौँ, ७ असार ।

बागमती प्रदेश सरकारले बाढी पहिरो पीडित परिवारहरुलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने भएको छ ।

प्रदेशका सिन्धुपाल्चोक, चितवन लगायतका विभिन्न जिल्लाहरुका बाढी पहिरो प्रभावित घर परिवारलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बागमती प्रदेश सरकारले बाढी पहिरो प्रभावित परिवारको राहतका लागि ५ करोड रुपैयाँ रकम छुट्याएको जानकारी दिए ।

उनका अनुसार प्रदेशका विभिन्न जिल्लाका बाढी पहिरोबाट प्रभावित परिवारहरूको राहत स्वरुप खाद्यान्न, अस्थायी बसोबासका लागि आर्थिक सहायता प्रदान गर्ने तयारी भइरहेको छ ।

बाढी पहिरो प्रभावित सबै जिल्लामा छिट्टै उपलब्ध गराउने गरी आवश्यक तयारीको काम समेत भइरहेको उनले बताए । बाढी प्रभावित भएका परिवारको स्वास्थ्य उपचारका लागि बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चिकित्सक टोलीसमेत पठाउने निर्णय गरेको मन्त्री ढुंगेलले बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वमा बाढी पहिरोबाट प्रभावित भएका परिवारको औषधि उपचारका लागि मंगलबार चिकित्सकहरुको टोली सिन्धुपाल्चोक र चितवनतर्फ पठाइने उनले बताए ।

त्यस्तै मंगलबार नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको प्रभावित क्षेत्रको अनुगमन गर्ने तय भएको मन्त्री ढुंगेलले बताए ।

मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि सिन्धुपाल्चोक जाने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ ।