मेलम्चीलाई राहत जुटाउन वर्षाले चलाइन् अभियान

रेडियो दर्पण संवाददाता

काठमाडौँ, ७ असार ।

अविरल वर्षासँगै आएको भीषण बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ । हेलम्बु र मेलम्ची क्षेत्रका कैयौँ मानिस बेघर र विस्थापित भएका छन् । बाढी घरभित्रै पसेर सबथोक बगाएपछि राहतको आशमा बसेका सिन्धुपाल्चोकका बासिन्दालाई यतिबेला आर्थिक एवं भौतिक सहयोगको ओइरो लागेको छ । कलाकारहरु पनि मेलम्चीको पीडामा मल्हम लगाउन अगाडि सरेका छन् ।

अभिनेत्री श्वेता खड्काले सामाजिक सञ्जाल फेसबुकमा सहयोग अभियान चलाएर ११ लाखभन्दा बढी संकलन गरिसकेकी छन् । उनले शुक्रवार गाडी नजाने ठाउँमा हेलिकप्टर र गाडी जाने ठाउँमा टिप्परमार्फत् बाढी पीडितलाई राहत वितरण गरेकी छन् । त्यस्तै, शुक्रवार अभिनेत्री पूजा शर्माले पनि सामाजिक सञ्जालमा सहयोगको आह्वान गरेर उठेको पैसाले खाद्यान्न सामाग्री बाँडिन् ।

सिन्धुपाल्चोकका बाढी पीडितलाई आवश्यक पर्ने राहत समाग्री उपलब्ध गराउन अभिनेत्री वर्षा सिवाकोटीले पनि सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरु गरेकी छन् । उनले चलाएको ‘मेलम्ची राहत अभियान’ मा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । उनले चाँडै दाताहरुको नाम सार्वजनिक गर्ने बताएकी छन् । सबै विवरण पारदर्शी राख्ने उनको प्रतिबद्धता छ ।

‘बाढी पहिरोले धेरै घर परिवारको क्षति पुर्‍याएको अवस्थामा हामी एक जिम्मेवार नागरिक भएको हिसाबले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्दछ । यही कुरालाई ध्यानमा राखेर मैले पनि एउटा सानो इनिसेसन लिएको छु,’ उनले एक भिडियो जारी गर्दै भनेकी छन् । उनका अनुसार, सहयोग गर्न चाहनले प्रभु बैंकमा रहेको केवी फाउन्डेसनको खातामा रकम पठाउन सक्नेछन् ।