राष्ट्रपति विद्यादेवीले कानुनविद्हरुसँग परामर्श लिएरमात्र सर्वोच्चको आदेशबारे निर्णय लिने

रेडियो दर्पण संवाददाता

काठमाडौँ, २९ असार ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरूसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ ।

राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले कानुनविद्हरूसँग परामर्श लिएर अगाडि बढ्ने तय भएको बताए । संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई आदेश दिने अदालतलाई अधिकार नभएको जिकिर गर्दै त्यसबारे थप परामर्श गरिने बताए ।

सर्वोच्च अदालतले भोलिभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । उक्त आदेशप्रति नेकपा एमालेको केपी शर्मा ओली पक्षधरले असन्तुष्टि जनाउँदै आएको छ ।