अपराधी भन्दै ओलीले गरे माधव नेपालको चर्को आलोचना

रेडियो दर्पण संवाददाता

काठमाडौँ, १७ साउन ।

नेकपा एमालेमा अध्यक्ष ओली पक्षीयदोश्रो पुस्ताका नेताहरु एकताको प्रयासका लागि माधव नेपाललाई भेटिरहेको बेला अध्यक्ष ओलीले भने नेपालको चर्को आलोचना गरेका छन् ।

काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले माधव नेपालाई अपराधीको संज्ञा समेत दिए । “वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिणपन्थीको पक्षमा फ्लोर क्रस गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने यस्ता प्रतिक्रियावादीहरुका मतियारका लागि पार्टीमा ठाउँ छैन ।” उनले भने ।

एकातिर माधव नेपालको चर्को आलोचना गरेका ओलीले माधव पक्षका अन्य नेताहरुलाई भने एकताका लागि आव्हान गरे । बिरोधाभासी वक्तव्य दिएका ओलीले गल्ती सच्च्याएर आउन भनेका हुन । ओलीले एकातिर माधव नेपाललगायतलाई अपराधी भन्दै चर्को आलोचना गरे भने अर्कोतर्फ पार्टी एकताका लागि अपील पनि गरे । माधव नेपालरहितको एकताका पक्षमा देखिएका ओलीले यसअघि पनि माधव नेपाललाई अपराधी भनेका थिए । यद्यपी उनको पक्षमा रहेका विष्णु पौडेललगायत भने सहमतिका लागि माधव नेपालसँग भेटिरहेका छन् ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी समेत गरे । “अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछि पछि कुद्ने छन् नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ ।”

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश समेत व्यक्त गरे ।