कांग्रेसको १४औँ महाधिवेशनको महामन्त्रीमा ३ युवा नेताको भीडन्त हुने

रेडियो दर्पण संवाददाता

काठमाडौं, २१ भदौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पछिल्लो समय निकै चर्चा छ । यसपटकको महाधिवेशनमा महामन्त्री पदमा ३ नेताको भीडन्त हुने भएको छ । महामन्त्रीमा युवा नेता प्रदीप पौडेलले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । उनले कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिने भएका हुन् ।

उनले वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्ने बताएका छन् । यसअघि नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसअघिको महाधिवेशनमा पनि महामन्त्रीमा नै उठिसकेका नेता थापासँग यस पटक वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री पदमा नै उठेका छन् ।

यस्तै आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दैछन् । शर्मा शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठ्ने भएका हुन् । उनले बिपीको जन्मजयन्तीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

यस्तै सभापतिमा हालसम्म उपसभापति विमलेन्द्र निधि र कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले उमेदवारी दिने घोषणा गरिसकेका छन् । कांग्रेसका अन्य नेताहरु पनि सभापतिमा उठ्ने तयारी गरिरहेका छन् । बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सभापति पदका आकांक्षी हुन्।

यस्तै सभापति पदलमा संस्थापन पक्षबाट फेरि देउवा पनि उठ्ने तयारी गरिरहेका छन् । महाधिवेशन अन्तर्गतको गाउँ तथा नगर वडा अधिवेशन शुक्रबारदेखि शुरु भइसकेको छ । हालसम्म नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भइसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भने आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।