केबल टेलिभिजन व्यवसायीहरूको माग सम्बोधन गर्छाैँ : मन्त्री भुसाल

रेडियो दर्पण संवाददाता

काठमाडौं, १४ असोज ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन्। बुधबार केबल टेलिभिजन व्यवसायी महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने बताएकी हुन्। उनले सरकारले सञ्चारलाई गाउँगाउँमा पुर्‍याउनुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताइन्।

मन्त्री भुसालले विज्ञान प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइल चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताइन्। उनले निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने र संवादद्वारा केवल टेलिभिजन व्यवसायीहरूको मागको हल निकाल्ने बताइन्।

‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्वपूर्ण अधिकार सूचनाको हक हो, यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको ठूलो हात छ, हामीले अहिलेको परिवर्तन, राजनीतिकर्मी, आमजनता र सञ्चारकर्मीहरूको कुल योगले पाएका हौँ, हामीले अहिले धेरै अधिकारलाई संस्थागत गर्न सकेका छौँ, हाम्रो देशमा साढे सात सयभन्दा बढी त एफएमहरू छन्, न्युज नै आफूले मात्रै बनाएर ब्रोडकास्ट गर्न पाउने अधिकार नेपालमा मात्रै हो, अरू देशमा सरकारले बनाएका समाचार छाप्ने हो, हामीले मोबाइल, चिप्सजस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनीकरण गर्नुहुँदैन, केबल टेलिभिजन व्यवसायी साथीहरूले गाउँगाउँ, ठाउँठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई निजी क्षेत्रले पनि दिएको छ, म त्यसलाई सम्मान गर्दछु, राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरू पनि हुनुहुन्छ, सँगै विज्ञानको प्रविधिले सबैका एउटा हातमा मोबाइल, चिप्सहरूमा संसार छ, त्यसको नियमन, अनुगम, नियन्त्रण कसरी गर्ने ? आदिबारे पनि चुनौतीहरू छन्, जसको अलि बढी सामना राज्यका हकमा पनि हुन्छ यो, यसलाई नियमन र नियन्त्रण गर्ने कुरा तर निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पार्ने भएकोले म यहाँहरूलाई के प्रतिबद्धता जनाउन चाहन्छु भने यहाँहरूका पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई राज्यले सकारात्मक ढंगले ग्रहण गर्नेछ, मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रूपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु,’ उनले भनिन्।

मन्त्री भुसालले सरकार सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन् । उनले आजको विद्युत् प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताइन्।