दीपकराज गिरीको प्रश्न– नेपाली चलचित्र लगाउन हिन्दी चलचित्र नै कुर्नुपर्ने ?

रेडियो दर्पण संवाददाता

काठमाडौं, १४ असोज ।

कलाकार तथा निर्माता दीपकराज गिरीले नेपाली चलचित्र लगाउन हिन्दी चलचित्र नै कुर्नुपर्ने अवस्था आउनु राम्रो नरहेको बताएका छन् । संकटको समयमा कोही न कोहीले आँट गर्नुपर्नेमा उनको जोड छ ।

“अहिलेको संकटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो,” दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “कमसेकम दसैंमा रिलिज गर्ने डेट तोकेर तैयार भएर बसेका साथीहरुले त आँट गर्नुपर्ने थियो नि । सहज हुँदा त एक आपसमा भिड्ने अफठ्यारो बेला चाहिँ।।।।”

काठमाडौं उपत्यकामा करिब एक महिना अगाडि नै सिनेमा हल खोल्ने अनुमति पाइसके पनि हालसम्म चलचित्र रिलिज हुन सकेका छैनन् । ५० प्रतिशत अकुपेन्सीमा मात्रै सिनेमा हल चलाउन पाइने र देशभरका हल पनि नखुलेका कारण दसैंमा पनि चलचित्र रिलिज गर्न नसकिएको निर्माताहरुले बताउँदै आएका छन् ।

तिहारमा हिन्दी चलचित्र शूर्यवंशी आउने र त्यसपछि मात्रै हलमा दर्शकको फ्लो हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने भन्ने मनस्थितिमा निर्माताहरु छन् ।