साहस उर्जा लिमिटेडको प्राथमिक शेयर आईपीओ बाँडफाँट

रेडियो दर्पण संवाददाता

काठमाडौं, १७असोज

साहस उर्जा लिमिटेडको प्राथमिक शेयर आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका२०७४ बमोजिम आइतबार आइतबार शेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।

आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएको छ।

क्यापिटलका अनुसार सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता शेयर माग भएको थियो । रद्द भएको ११ हजार ९९६ वटा आवेदन मार्फत १ लाख ७९ हजार ७७० कित्ता शेयर माग भएको थियो ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरु र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन संकलन गरिएको थियो।

हालका दिनमा आइपिओ पाउनेको संख्या ज्यादै न्यून रहँदै आएकोमा यस कम्पनीको भने कुल ६ लाख ४४ हजार जनाले १० कित्ताका दरले पाएका हुन्। हाल आइपिओ भर्नेको संख्या झण्डै २४ लाखको हाराहारीमा पुग्ने गरेको छ।