रवीन्द्र मिश्रले पार्टी फुटाए, अब निर्वाचन आयोगमा भेट हुन्छ : मिलन पाण्डे

रेडियो दर्पण संवाददाता

११ कात्तिक, काठमाडौं ।
विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले पार्टी फुटाएको आरोप लगाएका छन् । एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक बोलाएर दस्तावेज पारित गरेको भन्दै पाण्डेले अब मिश्रसँग निर्वाचन आयोगमा भेट हुने बताए ।

‘मैले बिहान केन्द्रीय कमिटीमा चिठीसमेत पठाएर पार्टी फुटाउनुभयो, बधाइ छ भनेर भनेको पनि छु’ उनले अनलाइनखबरसँग भने, ‘आजको निर्णयबाट उहाँले पार्टी दोस्रो पटक फुटाउनुभयो ।’
पाण्डेले बिहीबार बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको पनि उनले बताए । ‘उहाँले बोलाउनुभएको बैठक गुटको बैठक हो, पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचन आयोगले निर्क्योल गर्छ’ पाण्डेले भने, ‘उहाँसँग बैठक बोलाउने कुनै अधिकार छैन ।’