काठमाडौं, २१ कात्तिक ।
सल्यानमा आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेका छन् ।
सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका- ५ खारखोलामा दुर्घटनाग्रस्त भएको थियो ।
आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले दुर्घटनामा मृत्यु हुनेको संख्यामा १२ पुगेको बताए । ‘मृत्युमा हुनेमा एक-एक जना बालक र बालिका छन्’ डिएसपी थापाले भने, ‘केहीको घटनास्थल र केही उपचार गर्न ल्याउन क्रममा बाटोमै मृत्यु भएको हो ।’
६ जनाको घटनास्थलमा र बाँकी उपचार गर्न ल्याउने क्रममा निधन भएको हो ।
दुर्घटनामा तिहार मनाएर फर्किनेहरु दुर्घटनामा परेको डिएसपी थापाले बताए । थापाका अनुसार ३ जनाको सनाखत भएको छ ।
घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेका र उनीहरुको जिल्ला अस्पतालसहित सदरमुकाम खलंगाको स्वास्थ्य केन्द्रहरुमा उपचार भैरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट २ सय मिटर तल खोलामा बसेको र स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरिरहेको छ । घटनास्थल सदरमुकाम खलंगाबाट १ घण्टाको दुरीमा छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।
मृतकको विवरण
१) सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा-२ बस्ने २९ बर्षका तिलक ओली
२) दाङ जिल्ला घोराही उपमहानगरको नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी
३) दाङ जिल्ला बबई गाउँपालिका-६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी
मृतक १२ जना मध्ये १० महिला दुई पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नौ जनाको भने परिचय खुल्न बाँकी रहेको छ ।