अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा नजाने, यस्तो छ कारण

रेडियो दर्पण संवाददाता

९ मंसिर, काठमाडौं ।

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नेकपा (एमाले) को महाधिवेशनको उद्घाटनमा सहभागी नहुने भएका छन्। अध्यक्ष प्रचण्डको अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले शुक्रबार चितवन जान नसक्ने भएका हुन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने ‘भोलि प्रचण्ड कमरेड र मेरो अन्तै कार्यक्रम छ। पूर्वनिर्धारित कार्यक्रम भएकाले हामी जान पाउँदैनौं,’ श्रेष्ठले भने,‘पार्टीको प्रतिनिधि बनेर कोही नेता जानुहुन्छ होला अहिले टुंगो भइसकेको छैन।’

प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड भोलि काभ्रेका दुई कार्यक्रममा सहभागी हुँदैछन्।

महाधिवेशनको उद्घाटनमा सहभागी हुन केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर उनलाई निम्तो दिएका थिए।