कांग्रेस अधिवेशन : सर्लाहीमा झडप, निर्वाचन अधिकृतसहित ५ घाइते

रेडियो दर्पण संवाददाता

१३ मंसिर, सर्लाही ।

नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा झडप भएकाे छ । झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका हुन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ काे बलरा नगरपालिका-८ मा वडाअधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथी आक्रमण भएपछि प्रहरीसँगको झडपको क्रममा ५ जना घाइते भएका हुन् ।

वडा अधिवेशनको क्रममा मतदान अधिकृत झामाथि हातपात भएपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।

झडपमा परेर जनता मावि फुलपरासीका मतदान अधिकृत झासहित ३ जना प्रहरी र एकजना सर्वसाधारण घाइते भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

निर्वाचन अधिकृत झाको टाउकोमा चोट लागेको छ भने एकजना इन्सपेक्टरको हात भाँचिएको बताइएको छ ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथी हातपात गर्न लाग्दा झडप भएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए ।

यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथी हातपात हुनुका साथै उनका सुरक्षागार्ड रामचन्द्र खंगले हवाइफायर गरेका थिए ।