मलेसिया सरकारको विदेशी श्रमिक लैजाने तयारी !

रेडियो दर्पण संवाददाता

२६ मंसिर, काठमाडौं ।

मलेसिया सरकारले सबै क्षेत्रमा आप्रवासी श्रमिकहरु भर्ना गर्ने निर्णय गरेको छ।

१० डिसेम्बर २०२१ मा बसेको मलेसिया सरकारको मन्त्रीपरिषद् बैठकले उत्पादन, कृषि, सेवा, खानी तथा उत्खनन्, निर्माण र घरेलु कामदारका लागि विदेशी कामदार भर्ना खुला गर्ने निर्णय गरेको हो।

यसअघि मलेसियाले रवर तथा पाम उद्योगमा काम गर्न अनुमति लिएपछि मात्रै भर्ना गर्ने निर्णय गरेको थियो।

कोभिड महामारीपछि आप्रवासी श्रमिक प्रवेशमा रोक नै लगाएको थियो। २०२० मार्चदेखि विदेशीहरु मलेसिया जान पाएका थिएनन्। एक प्रेस विज्ञप्ती जारी गर्दै त्यहाँको मानव संसाधन मन्त्रालयले अब विदेशी श्रमिक भर्ना प्रकृया खुला भएको जानकारी दिएको हो। तर मलेसिया प्रवेश गर्ने श्रमिकहरुले तोकिएको मापदण्ड पूरा गर्नुपर्नेछ।

मलेसिया जाने आप्रवासी श्रमिककको पिसिआर परीक्षण, क्वारेन्टाइनबापत खर्च तथा कोभिड भए उपचार खर्च पनि रोजगारदाताले नै बेहोर्ने उल्लेख गरिएको छ। मलेसिया नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक हो। हाल मलेसियामा तीन लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको छ।

अद्यावधिक काम वैदेशिक रोजगार बोर्डको सहयोग तथा दूतावासको समन्वयमा गरिने बोर्डले जनाएको छ। सोक्सोमा आबद्ध भएपछि मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिक दुर्घटनामा वा बिरामी परेमा निःशुल्क उपचार सुविधा प्राप्त गर्नेछन्। यो सुविधा पाउन श्रमिकले मेडिकल रिपोर्ट, परिचय पत्रको प्रतिलिपिसहित दुर्घटना रिपोर्ट फारम भरेर सोक्सो कार्यालयमा पेश गर्नुपर्छ।

कम्पनी जाने वा फर्कने क्रममा दुर्घटना भएको अवस्थामा प्रहरी रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको नक्सा पेश गर्नुपर्नेछ। कार्यस्थलका कारण रोगबाट पीडित भएका श्रमिकले सोक्सोसँग आबद्ध प्यानल क्लिनिक, सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा पाउँछन्। पूर्ण रूपमा अक्षमता भएका वा निरन्तर हेरचाह आवश्यकता पर्ने गरी अंगभंग भएका श्रमिकले भत्ता पाउँछन्। उनीहरूको हकमा तोकिएको मेडिकल रिपोर्ट तथा बोर्डको सिफारिस समेतका आधारमा निरन्तर भत्ता पाउने व्यवस्था छ। श्रमिक दुर्घटनामा परी स्थायी रूपमा आयआर्जन गर्न अक्षम भए निजले आफ्नो दैनिक तलबको ९० प्रतिशत बराबर रकम भत्ता पाउँछन्। अस्थायी रूपमा काम गर्न अक्षमले आयआर्जन तोकिएका शर्तका अधीनमा रही पारिश्रमिकको ८० प्रतिशतसम्म पाउने व्यवस्था छ।

श्रमिकको मृत्यु भएमा मलेसियामै वा नेपालमा अत्येष्टि गर्न दाहसंस्कार खर्च सोक्सोले उपलब्ध गराउँछ। आश्रित सुविधा अन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भए निजका श्रीमान वा श्रीमतीले आजीवन दैनिक तलबको ६० प्रतिशत रकम पाउने व्यवस्था छ। मृतकका सन्तानले भने २१ वर्षको उमेरसम्म आमा वा बुबा दुईमध्ये एकजना जिवितै रहेको अवस्थामा ४० प्रतिशतका दरले भत्ता पाउनेछन्। आमाबुबा दुवैको मृत्यु भएको अवस्थामा २१ वर्षको उमेरसम्म दैनिक तलबको ६० प्रतिशत रकम सोक्सोले उपलब्ध गराउँछ। अविवाहित भए वा श्रीमान, श्रीमती, छोरा, छोरी नभएमा बाबुआमा, दाजुभाइ वा हजुरबुवा-हजुरआमाले दैनिक तलबको ३० देखि ४० प्रतिशत रकम आजीवन प्राप्त गर्न सक्ने व्यवस्था छ।

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सोक्सोमा आबद्ध गराउने विषय दुई वर्ष अगाडिदेखि नै उठिरहेको थियो। तर दुई देशका सरकारबीच विस्तृत छलफल हुन नसक्दा समझदारी प्रक्रिया अघि बढ्न सकेको थिएन। अथक प्रयासपछि सो व्यवस्था कार्यान्वयनका लागि ढिला नै भए पनि सम्झौता गर्न सफल भएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ बताउँछन्। ‘यो श्रमिकहरूका लागि निकै महत्वपूर्ण दस्तावेज हो। दुई वर्षदेखिको प्रयास सफल भएको छ,’ श्रेष्ठ भन्छन्।