अफिसबाट घर फर्कदै गरेकि २५ वर्षीया कृतिका घर नपुग्दै बाटोमा ‘बसले ब्याक गरेर मा’र्यो”

रेडियो दर्पण संवाददाता

२६ पुस, काठमाडौं ।

दोलखाकी कृतिकाको मंगलबार दिउँसो काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदै थियो। त्यही बेला मृतक कृतिकाका बुवा कल्याण कार्की महानगरीय प्रहरी वृत्त, गौशालामा थिए।

कल्याणलगायत आफन्तहरू वृत्तमा कानुनी कारबाहीका लागि पुगेका थिए। उनलाई आफ्नी छोरीको काजकिरियासँगै दोषीलाई कठघरामा उभ्याउनु पनि थियो। उनले वृत्तमा सवारी ज्यान मुद्दामा मयूर यातायातको बा ५ ख १५३८ नम्बरको बसका चालकविरूद्ध जाहेरी दिएका छन्। सहचालक पक्राउ परिसकेका छन्।

बुवा कल्याण सोमबार राति मात्रै दोलखा, तामाकोशी गाउँपालिका सिन्लेबाट काठमाडौं आइपुगेका हुन्। उनी आफ्ना जेठा छोरासँग रातारात काठमाडौं आइपुगेका हुन्। आफ्नी २६ वर्षीया छोरी कृतिका दुर्घटनामा परेको खबर पाएपछि उनीहरू रातरातै काठमाडौं आएका थिए।

कृतिका दुई-तीन वर्षदेखि आइएमई जनरल इन्स्योरेन्स नक्साल शाखामा काम गर्थिन्। अफिसमा ड्युटी सकेर सोमबार साँझ कोठा फर्किँदै गर्दा दुर्घटना भएको हो। करिब साढे ६ बजेको थियो। उनी बागमती प्रदेश-०२-०२१ प १९३५ नम्बरको डियो स्कुटर चढेर कोठा फर्किँदै थिइन्।

काठमाडौं महानगरपालिका-९ तिलगंगा, पिंगलास्थानमा पुगेपछि पछाडिबाट उनलाई बसले ठक्कर दियो। ठक्कर दिएपछि उनी स्कुटरबाट लडिन्। स्कुटरबाट लडेपछि बसले किचेको गौशाला वृत्तले जानकारी दिएको छ। बसले किचेपछि कृतिका गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्कालै काठमाडौंको टिचिङ अस्पताल पुर्‍याइएको थियो।

उपचारकै क्रममा मंगलबार बिहान ६ बजे चिकित्सकले कृतिकालाई मृत घोषणा गरेको हो। उनको मृत्युपछि उनका बुवा कल्याणलगायत आफन्तहरू दुखी मात्रै छैनन्, आक्रोशित पनि छन्। दुर्घटनामा परे पनि कृतिकाको स्कुटरमा भने खासै क्षति पुगेको छैन। मयूर यातायातको बसमा स्थानीयले आक्रोशमा आएर तोडफोड पनि गरेका थिए।

नुवाकोट, शिखरबेसी घर भएका चालक श्रीराम तामाङ अहिले फरार छन्। उनी घटना भएपछि भागेको प्रहरीले जनाएको छ। बसले ठक्कर मात्रै दिएको भए पनि आफ्नी छोरी जोगिनसक्ने शिक्षकसमेत रहेका बुवा कल्याण बताउँछन्। तर चालकले बस ब्याक नै गरेर घिसारेको हुँदा आफ्नी छोरी नजोगिएको उनको भनाइ छ।

‘छोरी अफिसबाट कोठा फर्किँदै थिइन्। पिंगलास्थान पुगेपछि गाडीले स्कुटरलाई पछाडिबाट हान्यो। तर स्कुटर जस्ताको तस्तै छ। बसले हानेपछि स्कुटर ढल्यो। मान्छे उछिट्टिएर पर लग्यो। त्यसपछि चालकले के हेर्‍यो खै! चालकले ब्याक गरी किचेर घिसारेर लग्यो,’ कल्याणले दुर्घटनाको सिसिटिभी फुटेज हेरेको बताए, ‘फालेको मात्रै भए मर्दैन थियो होला। घाइते भए उपचार गराउन सकिन्नँ भनेर २० मिटर जति घिसारेर मार्‍यो।’

कृतिका काठमाडौं बसेको दस वर्ष भइसकेको थियो। उनी शान्तिनगरमा आफ्नी बहिनीसँग डेरामा बस्दै आएकी थिइन्। फुपू दिदी जमुना कार्कीका अनुसार कृतिकाले हालसालै मास्टर्स सकाएकी थिइन्। उनले एमबिएस गरेकी हुन्। जमुनाले भने घटनाबारे बिहान मात्रै थाहा पाएकी थिइन्।

कृतिकाको विवाह गर्ने कुरा पनि चलिरहेको थियो। तर त्यसैबीच यस्तो घटना भएको उनले बताइन्। कृतिका पढाइमा पनि सानैदेखि अब्बल भएको उनी बताउँछिन्। जमुनाले भनिन्, ‘पढाइमा पनि ट्यालेन्ट, त्यसमा मात्र होइन हरेक कुरामा। कसैलाई पनि नराम्रो नगर्ने सिद्धान्त थियो उनमा। उसको जति भावना कसैको छैन होला।’

उनले दुर्घटनाबारे थपिन्, ‘चालकको धेरै गल्ती छ। नियम मात्रै नभएर हो, नत्र फाँसी दिन हुन्थ्यो। यसरी घिसारेर ल्याएको छ। अपांगता भए उपचार गर्नुपर्छ भनेर चालकले यस्तो गरेको हो।’ बसमा सहचालक पनि थिए। चालक भागेपछि सहचालक पनि अर्को बसमा चढेर धुलिखेल पुगेका थिए। सहचालकले मयूर यातायातका कर्मचारीलाई फोन गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले धुलिखेलबाट पक्राउ गरी हिरासतमा लिएको छ।