ट्रक र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

रेडियो दर्पण संवाददाता

२० माघ, काठमाडौं ।

भक्तपुरमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन् ।

चाँगुनारायण–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

गिरीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्यलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने दुईलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर घर भई हाल चावहिल बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–१८ का समिर तामाङ रहेका छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बरप्लेट परिवर्तन गरेर नयाँ नम्बर प्लेट हालेर सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गोकर्णेश्वरबाट नियन्त्रणमा लिइएको तामाङको साथबाट वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश–०२–०२५ प १३१८ नम्बर हालेको अवस्थामा बरामद गरिएको हो । अनुसन्धानपश्चात उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश–०२–०२९ प ५२०९ भएको खुल्न आएको महाशाखाले जनाएको छ ।

ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्बरको सेतो रङको डुक मोटरसाइकल बरामद गरेको छ । उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई चोरी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त क्रमशः ठिमी र सिंहदरबार पठाइएको महाशाखा प्रमुख जोशीले बताउनुभयो ।