नयाँ मलेसिया रोजगारको लागत तोकियो, अर्को हप्ता देखि कामदार पठाउन सुरु..

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

मलेसिया सरकारले नेपालसहित बङ्लादेश,इन्डोनेसिया, पाकिस्तान लगायतका स्रोत देशबाट विदेशी श्रमिक भर्ना गर्ने प्रक्रिया फेबु्रअरी १५ तारिखबाट सुरु गर्ने भएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालयले शनिबार जारी गरेको एक विज्ञप्तिअनुसार जनवरी २८ बाट ‘प्लानटेसन’ (पाम आयल) क्षेत्रमा ३० हजार जनालाई भर्ना गर्ने प्रक्रिया सुरु गर्न लागिएको हो ।

यसको लागि श्रमिक भर्ना गर्ने रोजगारदाता कम्पनीले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ । उत्पादन, सेवा, सुरक्षा र घरेलु श्रमिकका लागि भने फेब्रुअरी १५ बाट सुरु हुनेछ ।

मलेसियाले श्रमिक ल्याउन सबै मापदण्ड तय गर्नुका साथै क्वारेन्टाइन बनाएपछि स्रोत देशबाट श्रमिक ल्याउन अनुमति दिन थालिएको हो ।

अब रोजगारदाताले श्रमिक भर्ना गर्न गृह र मानव संशाधन मन्त्रालयबाट विशेष अनुमति लिन जरुरी नभएको मानव संशाधनमन्त्री शेरी एम शाराभानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘विदेशबाट श्रमिक ल्याउनका लागि केलाङ भ्यालीमा १० हजार जना अट्ने क्षमताको क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

मलेसिया आउने श्रमिकले नेपालमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यताप्राप्त कोरोना खोप लगाइसकेको हुनुपर्नेछ । मलेसिया प्रस्थान हुनुभन्दा ७२ घण्टाभित्र श्रमिकले ‘आरटी–पीसीआर’ परीक्षण गरेको हुनुपर्नेछ । मलेसिया पुगेपछि ७ दिन अनिवार्य स्वास्थ्य मन्त्रालयबाट तोकिएको क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

क्वारेन्टाइनमा राखिएको दोस्रो र पाँचौ दिनमा आरटी पीसीआर गरिनेछ । कोरोनाबाट संक्रमण भएमा निजी क्वारेन्टाइन तथा न्यून जोखिम उपचार सेन्टर (पीकेआरसी)मा राखिनेछ भने गम्भीर भएमा निजी अस्पतालमा पठाइनेछ । यसको सबै खर्च रोजगारदाता,कम्पनीलेनै बेहोर्नुपर्ने हुन्छ।

नेपाली सहित विदेशी श्रमिकको लागी मलेसिया रोजगारी बिगत दुईबर्षदेखि बन्द रहेको छ। जसले गर्दा मलेसिया आउन चाहेका नेपालीहरु समेत आउन पाएका छैनन् ।

मलेसिया स्थित नेपाली दूतावासका अनुसार अहिले मलेसियामा करिबकरिब डेढ लाई नेपाली श्रमिकहरु विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न।