मलेसिया खुल्यो : अब नेपाली मजदुर जान पाउने तर नियम कडा !

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

मलेसियाले कोरोना भाइरसको महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया खुला गरेको छ । मंगलबारदेखि श्रमिक भर्ना प्रक्रिया आंशिक रूपमा खुला गरिएको हो ।

नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टाइनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्ने जनाइएको छ । विदेशबाट श्रमिक ल्याउन इच्छुक रोजगारदाताले नै सबै खर्च बेहोर्नुपर्ने मलेसियाको गृह र मानव संसाधन मन्त्रालयले जनाएको छ ।

काठमाडौंस्थित मलेसियाली दूतावासले पनि डेढ वर्षपछि नेपाली श्रमिक लैजान बाटो खुलेको जनाएको छ । नेपालका लागि मलेसियाली कार्यवाहक राजदूत मोहम्मद फाजिल अबु हसनले मलेसियाको गृह मन्त्रालयबाट श्रमिक भर्ना गर्न अनुमति पाएका रोजगारदाताहरूले तोकिएका सबै प्रक्रिया पूरा गरी नेपाली श्रमिक लैजान पाउने बताए ।

मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान रोकेको थियो । केही समययता श्रमिक अभाव भएपछि मलेसियाका सबै क्षेत्रका रोजगारदाताहरूले नयाँ श्रमिक भर्नाको अनुमति दिन त्यहाँको सरकारलाई दबाब दिइरहेका थिए ।

नयाँ व्यवस्थाअनुसार मलेसिया पुगेपछि श्रमिकहरू सरकारी अनुमति प्राप्त क्वारेन्टाइनमा ७ दिन बस्नुपर्नेछ । श्रमिकलाई क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै प्रवेशको अनुमति दिइएको छ ।नेपाल र मलेसियाको श्रम सम्झौताअनुसार भिसा प्रक्रियामा लागेको सबै खर्च रोजगारदाताले नै बेहोर्ने उल्लेख छ ।

सम्झौता अनुसार स्वास्थ्य परीक्षण र सुरक्षा जाँचमा लागेको खर्च मात्रै श्रमिकले नेपालमा बुझाउनुपर्नेछ । त्यो शुल्क पहिलो महिनाको तलबमार्फत रोजगारदाताले भुक्तानी गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको छ ।