भोलि ६ दलले बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले जारि गर्यो यस्तो सुचना !

रेडियो दर्पण संवाददाता

३ फाल्गुन, काठमाडौं ।

गृह मन्त्रालयले विभिन्न ६ दलले एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको छ । मन्त्रालय अन्तरगतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सबै जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएको हो।

‘प्रस्तुत विषयमा नेपाल कम्युनिष्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानुन विपरीतका उल्लेखित गतिविधिहरू हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशानुसार अनुरोध छ’, मन्त्रालयको सर्कुलरमा भनिएको छ ।

बन्दको आव्हान गरेका ५ पार्टी र एक मोर्चाले नेपाल बन्द सशक्त रुपमा सफल पार्न पार्टीपंक्तिलाई निर्देशनसहित सर्कुलर गरेको छ भने देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, देशभक्त शक्तिहरु, सच्चा लोकतन्त्रवादीहरु र आम नेपाली जनतालाई सक्रिय सहभागिताको लागि विशेष आव्हान गरेको छ ।

रुपन्देहीमा ६ दलको बैठक, बन्दलाई प्रभावकारी बनाउने निर्णय रुपन्देहीमा ६ दलको मंगलबार बुटवलमा बसेको बैठकले बन्दलाई सफल पार्न सम्पूर्ण तयारी गर्ने बताएको छ ।

६ दलको बैठकमा एमसीसी विरुद्ध यसअघिका कार्यक्रमको समीक्षा गर्दै फागुन ४ गते नेपाल बन्दलाई सफल पार्न सम्पूर्ण उद्योगी, यातायात व्यसायी, शैक्षिक संघसंस्था, पत्रकार, मानवअधिकारकर्मी एवं देशभक्त, प्रगतिशील, बुद्धिजीवीहरुलाई सहयोग गर्न अपील गरेको छ ।

बन्दको विहान ५ बजेदेखि साँझ ५ बजेसम्म रहने नेकपा रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले बताउनुभएको छ । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दमकल, दुधको गाडीलाई चल्न दिने बताइएको छ ।