बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी

रेडियो दर्पण संवाददाता

२५ फागुन, काठमाडौं ।

सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। फ्युचर स्टार आवासीय मावि कक्षा १० का विद्यार्थी १७ वर्षीय सनिज श्रेष्ठको मृत्युपछि उत्पन्न तनावलाई लिएर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा तनहुँको भानु नगरपालिका–९ का सनिजको मङ्गलबार मृत्यु भएको थियो।

स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए। उनका अनुसार सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा कर्फ्यु जारी जारी गरिएको छ।

सोही विद्यालयका शिक्षक सरोज ओलिया पनि विद्यार्थीसँगै पौडी खेल्न गएका थिए। छात्रबासमा बस्दै आएका श्रेष्ठको मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरबाही गरेको भन्दै सो क्षेत्रमा मङ्गलबार प्रदर्शन गरेका थिए।