सुनको मूल्यमा नयाँ किर्तिमान, १ लाख ५ हजार नाघ्यो

रेडियो दर्पण संवाददाता

२५ फागुन, काठमाडौं ।

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन तोलामा २५ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको छ । यो भाउ अहिलेसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य तोलामा एक लाख ३ हजार रुपैयाँ थियो ।

रुस युक्रेन युद्धको असरले आज नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि, कोभिड १९ का कारण भएको लकडाउनको असरले गएको वर्षको साउन महिनामा सुनको भाउ १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता निरन्तर घट्दै प्रतितोला ८८ हजार रुपैयाँसम्म आइपुगेको सुनको भाउ फेरि बढेर १ लाख ५ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

सुनको भाउ अझै बढ्न सक्ने अनुमान रहेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ४० रुपैयाँले बढेर चाँदी आज १४ सय ५० रुपैयाँ पुगेको छ । रुस र युक्रेनको युद्धका कारण विश्व बजारमा सुनसँगै, पेट्रोलियम पदार्थ, ग्यास र खानेतेलको भाउ महंगीदै गएको छ ।

डलरको भाउ बढ्यो, अन्य देशसहित हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३ रुपैयाँ ३६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ २० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १० पैसा र बिक्री दर १६१ रुपैयाँ ८९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४८ पैसा र बिक्री दर ८९ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १० पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ७२ पैसा र बिक्री दर ३२ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ६८ पैसा र बिक्री दर ३३ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ४९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ कायम भएको छ ।