यस्तो मत राख्दै झलनाथ खनालले झस्काइदिए माधव नेपाल !

रेडियो दर्पण संवाददाता

२७ फागुन, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा झलनाथ खनालले चार दलीय गठबन्धनबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन्।

‘कांग्रेसभित्र गगनकुमार थापा, र डा शेखर कोइरालाहरु गठबन्धन गरेर जान नहुने पक्षमा देखियो। उनीहरु गठबन्धन गरेर जाँदा कांग्रेसले ७० सिटमात्रै जित्ने हिसाब गरेर बसेका छन्। एक्लै चुनावमा जाँदा १५५ सिट जित्ने हिसाब उनीहरुको रहेछ’, खनालले भने, ‘सभापति शेरबहादुर देउवा भने गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने अडानमा रहेको पाएका छौँ।’

नेता खनालले गठबन्धनबारे कांग्रेसले देशभरको अवस्था अध्ययन गरेर बताएको उल्लेख गरे। ‘गठबन्धन र एक्लै चुनावमा जाँदा आउने परिणामबारे कांग्रेसले अनुसन्धान गरेर भनेको हो’, उनले भने, ‘गठबन्धनबारे हामीले पनि विचार गर्नुपर्ने हुन्छ। सोचेर निर्णय लिनु उचित हुन्छ।’

खनालले आगामी निर्वाचनमा कांग्रेस र एमालेमध्ये एउटा पार्टी सबैभन्दा ठूलो हुने पनि बताएका छन्। ‘अहिलेको अवस्थामा कांग्रेस र एमालेमध्ये एउटा पार्टीबीच ठूलो हुने प्रतिस्पर्धा छ’, उनले भने, ‘यो अवस्थामा हामीले पनि गम्भीर विचार र मनन गरेर अघि बढ्न सक्नुपर्छ।’

यता गठबन्धनलाई जसरी पनि तीनै तहका चुनावमा लैजानुपर्ने नेकपा एसको ठहर रहेको छ । कुन स्थानीय तहमा कसको शक्ति कति छ भन्ने वस्तुगत मुल्यांकन समेत पेश गर्न अध्यक्ष नेपालले निर्देशन दिएका छन् ।

नेपालले बैठकमा भने, ‘सकेसम्म गठबन्धन सबै ठाउँमा मिल्ने हो । नत्र जति ठाउँमा मिल्न सकिन्छ मिलेर जाने । अरुको पोजिसन पनि जानकारी राख्ने मुल्यांकन गर्ने । केही पार्टीलाई हामी नै जित्छौं भन्ने भ्रम छ,त्यो भ्रम तोड्नुपर्छ ।

अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाई थियो ।

उनले चुनावमा पार्टीको ७५३ वटै स्थानीय तहहरुमा उपस्थिति हुने पनि बताए । उनले अगाडि भने, ‘कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने । तर, त्यो भ्रम समयक्रममा प्रष्ट हुनेछ । उनीहरुले भ्रममात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नु पर्दछ ।

बुधबारदेखि सुरु केन्द्रीय समिति बैठकको सुरुवातमा आफ्ना भनाइ राख्ने क्रममा नेता खनालले संसदबाट पारित एमसीसीबारे चुनावपछि मात्रै बहस गर्नुपर्ने पनि बताएका छन्।