के म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको हो ?

रेडियो दर्पण संवाददाता

२७ फागुन, काठमाडौं ।

नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ ।

‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ ।

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ ।

मतगणनामा समस्या नआओस् भनेर हरियो रङ प्रयोग गर्न खोजेको आयोगको स्पष्टीकरण, निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको स्पष्टीकरण दिएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणनामा सजिलो होस् भनेर चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्न खोजिएको बताउनुभयो ।

नेपालमा हुने निर्वाचनमा चुनाव चिह्नमा संकेत गर्न प्रयोग गरिने स्वस्तिक छाप नीलो रङको रहेको छ । २०७४ सालको निर्वाचनमा चुनाव चिह्न पनि नीलो रङको थियो । चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा मतगणना गर्न कठिन भएको पाइएपछि ३० वैशाखको स्थानीय निर्वाचनमा रङ भिन्नता गर्न खोजेको अर्यालले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा त्यसको आलोचना गर्नुभएको थियो । उहाँले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा हुने गरी आयोगले निर्णय गरेको आरोप लगाउनुभएको थियो ।