दुई वर्षपछि मलेसिया विदेशी पर्यटकका लागि खुल्यो

रेडियो दर्पण संवाददाता

काठमाडौं ।

झन्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि मलेसिया खुल्ला गर्न लागिएको छ।

आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई बिना क्वारेन्टाइन प्रवेश दिइने निर्णय भएको प्रधानमन्त्री इस्माइल साबरी याकुबले मंगलबार जानकारी गराएका छन्।

कोरोना महामारीका कारण मलेसियाले दुई वर्ष अगाडि अर्थात् सन् २०२० को मार्चदेखि पर्यटकलाई स्वदेश भित्रिन प्रतिबन्ध लगाएको थियो।

कोरोनाभाइरसको महामारी कम भएको र प्रतिबन्धात्मक व्यवस्था हटाइएकाले विदेशी पर्यटकलाई खुला गर्न लागिएको प्रधानमन्त्री याकुबले टेलिभिजन सम्बोधनमार्फत भनेका छन्।

विश्वका अरू धेरै देशमा पनि महामारी कम भएको र ती देशहरूले समेत विदेशी पर्यटकलाई खुला गरेकाले प्रतिबन्ध लगाइरहनु आवश्यक नरहेको मलेसियन सरकारले निष्कर्ष निकालेको छ।

यो सँगै प्रधानमन्त्री याबुकले मलेसियाली नागरिकलाई पनि अन्य देशको यात्रा गर्न खुला गरेका छन्। एक वर्ष भन्दा बढी समय देश छोड्न नपाएका उनीहरू सिंगापुर बाहेक अन्य देशको यात्रामा प्रतिबन्ध लागेको थियो। तर प्रधानमन्त्रीको घोषणा सँगै ब्रुनाई, थाइल्याण्ड र इन्डोनेसियालगायत अन्य देशहरूसँगको यात्रा गर्न पाउने भएका छन्।

यस्तै उनले व्यापार व्यवसाय सञ्चालन समय, जमघट, सामाजिक दूरी र अन्तरराज्यीय यात्राका प्रतिबन्धसमेत सहज बनाइने जानकारी दिए।

एसियाली मुलुक मलेसियामा पर्यटकहरूको ठूलो भीड लाग्ने गर्छ भने पर्यटन व्यवसायबाट ठूलो आम्दानी हुने गरेको छ।