एमालेका मेयरदेखि कांग्रेसका जिल्ला नेतासहित तीन दर्जन बढीले गरे माओवादी प्रवेश

रेडियो दर्पण संवाददाता

१ चैत, धनगढी ।

विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनभन्दा बढी जिल्ला नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा अध्यक्ष प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा स्थानीय तहका निर्वाचित उपाध्यक्षदेखि पार्टी जिल्ला नेताहरु रहेका छन् । पार्टी प्रवेश गर्नेहरुमा एमालेबाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा निर्वाचित तथा हाल कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगर, एमालेकै कैलाली जिल्ला कमिटी सदस्य जयरुद्र न्यौपाने, ०४८ र ०५४ मा लालझाँडी गाउँपालिकाबाट दुईपटक निर्वाचित वडाअध्यक्ष हुमना राना, ०४२ सालदेखि कांग्रेसका क्रियाशील सदस्य समेत रहेका केदारसिंह गाउँपालिका बझाङका नेता लालबहादुर शाही, कांग्रेसकै अमगरगढी–८ का नवराज ओझा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

यसैगरी एमालेबाट ०७४ को वडा सदस्यमा निर्वाचित डिलासैनी गाउँपालिका– ४ का सदस्य रामबहादुर नेगी, लम्कीचुहा नगरपालिका– २ का नयाँ शक्ति पार्टीबाट ०६४ सालमा अध्यक्षका उम्मेदवार वीरबहादुर चौधरी, नागरिक उन्मुक्ति पार्टी भजनी नगरपालिकाका नेता इन्द्रबहादुर चोधरीलगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यस्तै आजको कार्यक्रममा पार्टी प्रवेश गर्ने अन्य नेताहरुमा गोदावरी नगरपालिकाका कांग्रेसका नेता पदमबहादुर बलायर, एमालेको डोटी जिल्ला सदस्य आदर्श गाउँपालिकाका चन्द्रदेव पाठक, बजुरा त्रिवेणी नगरपालिकाका एमाले नेता हिम्मतबहादुर शाही, एमालेकै कैलालीका जिल्ला सल्लाहकार मनिराम सुनार, विशाल नगरबाट कांग्रेसका नेता नवीन खड्का, घोडाघोडी नगरपाकिलाका एमाले नेता दशरथ न्यौपानेलगायत तीन दर्जनभन्दा बढीले पार्टी प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।