गठबन्धनलाई प्राथमिकता दिएर चुनावमा जाने सोच छः अध्यक्ष प्रचण्ड

रेडियो दर्पण संवाददाता

६ चैत, कैलाली।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलबीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताउनुभएको छ ।

आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भन्नुभयो,‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरुसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।

प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिन अघि आफ्नै दलका नेतालाई निर्देशन गर्नुभएको स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्धिवीधामा नहरेको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो ।

प्रचण्डले गठबन्धन जोगाउन यस्तो खालको मध्यमार्गी प्रस्ताव अगाडि बढाएका हुन् । यसमा नेपाली कांग्रेस र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरु सहमत भएका छन् ।

तर प्रचण्डले पार्टीमार्फत आधिकारी निर्णय भने गराएका छैनन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ट, देव गुरुङ, लिलामणी पोखरेल लगायतले यसको विरोध गरेका छन् । उनीहरुले यथास्थितिमा एमसीसी अनुमोदन गरे पार्टी फुट्ने धम्की दिन थालिसकेका छन् । यता नेपाली कांग्रेसले पार्टीबाट निर्णय गराएर ल्याउन दवाव दिएको छ ।

पार्टीबाट निर्णय गरेर नआए कुनै पनि बेला गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् । एमसीसी अनुमोदनको पक्षमा रहेको कांग्रेसले पछिल्लो समय प्रमुख विपक्षी दल एमालेसँग निरन्तर सम्वाद गरेको छ । शनिबार पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की एमाले नेताहरुसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

एमाले नेताहरुसँग सकारात्मक छलफल भएपनि साँझ सत्तारुढ गठबन्धनको निर्णय भएकाले कुनै सहमति नभएको एक नेताले बताए । एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि शुक्रबार विहानदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने गरी सहमतिको विन्दु खोज्न सक्रिय भएका थिए ।