मेयरको टिकट नपाउने भएपछि राजेशमानले छोडे एमाले, जसपा प्रवेश गर्ने

रेडियो दर्पण संवाददाता

६ चैत, काठमाडौं ।

भर्खरै नेकपा एमालेमा प्रवेश घोषणा गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने भएका छन् ।

उनी एक महिना अगाडि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर एमाले प्रवेश गर्ने घोषणा गरेका थिए । तर, उनी औपचारिक रुपमा एमाले प्रवेश गरेका थिएनन् ।

सिंह गत स्थानीय तहको निर्वाचनमा वीरगञ्जको मेयरमा पराजित भएका थिए । एमालेले जसपाका केन्द्रीय सदस्यसमेत रहेका वीरगञ्जका मेयर विजयकुमार सरावगीलाई भित्र्याएपछि उनी जसपा प्रवेश गर्ने भएका हुन् ।

सिंहलाई भित्र्याउन सोमबार जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई वीरगञ्ज जाने भएका छन् । सिंहले पनि आफू टिमसहित जसपा प्रवेश गर्न लागेको पुष्टि गरेका छन् ।

सिंहले आफूसँगै वडाध्यक्षहरु बैजलाल स्वर्णकार, रियाज मियाँ ठकुराई, बर्कतुल नेसा, नेताहरु प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेशलाल सहनी पनि जसपा प्रवेश गर्न लागेको जानकारी दिए ।

यसअघि गत माघ २८ गते महानगरपालिका प्रमुखको टिकट पाउने आश्वासनमा सिंहले पत्रकार सम्मेलन गरेर लोसपा परित्याग गर्दै एमाले प्रवेशको घोषणा गरेका थिए । एमालेले सरावगीलाई मेयरको टिकट दिने भनेर भित्र्याएपछि उनले जसपा रोजेको स्रोतको भनाई छ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेर १२ हजार १ सय ६५ मतका साथ तेस्रो भएका सिंह सरावगीले परित्याग थिए ।