गोकुल बास्कोटालाई काभ्रेमा भयानक कठिन, धुलिखेल र बनेपा नगरपालिका एमालेले गुमाउने

रेडियो दर्पण संवाददाता

१५ चैत, काठमाडौं ।

केही समययता एमाले नेता गोकल बास्कोटा ट्विटर प्रेमी भएका छन् । हरेक दिन उनले केही न केही राजनीतिक स्टाटस लेखेकै हुन्छन् ।

कहिले कांग्रेस त कहिले माओवादी केन्द्रको उछितो काढ्छन् । तर, पछिल्लो समय भने चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीका कारण उनको ट्विटरमा कराउने रोग बन्द भएको छ ।

सिजी मोबाइल कम्पनीलाई मोबाइल फ्रिक्वेन्सी रोक्न बास्कोटाले लाखौं रुपैयाँ अर्कै कम्पनीसँग चप्काएको रहस्य खुलेपछि बास्कोटाको निदहराम भएको छ । बास्कोटाको गृहजिल्ला काभ्रे हो ।

उनी एमाले अध्यक्ष केपी ओली बस्दै आएको बालकोट छेउछाउमा बस्छन् । अघिल्लो निर्वाचनमा बास्कोटाले धेरै मतान्तरले संघीय सांसदको निर्वाचन जितेका थिए । तर, यसपटक उनका लागि फलामको च्यूरा सावित हुने देखिएको छ ।

काभ्रे एमालेका कमान्डर कृष्णलाल सापकोटा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी आफैं गोकुल बास्कोटाको निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरेकाले पनि बास्कोटालाई ठूलै संकट आइलाग्ने देखिएको छ ।

त्यही भएर चुनाव आउन लागेपछि उनले एकीकृत समाजवादीलाई गाली गर्न छाडेका छन् । केही दिनअघि धुलिखेल एमालेका चर्चित नेता रामकृष्ण हुमागाई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

हुमागाई मात्र होइन, उनले हिजो एमालेलाई जिताउन महत्वपूर्ण भूमिका निभाउने सबैलाई कांग्रेस भित्र्याएका छन् । त्यसपछि त बास्कोटाको बोली नै बन्द भएको छ ।

काभ्रेमा विगतमा बनेपा नगरपालिका र धुलिखेल नगरपालिकामा एमाले निकै बलियो थियो । त्यसैले एमालेले चुनाव जित्दै आएको थियो ।

तर, यसपटक भने धुलिखेलमै फेरि मेयरमा दोहोरिन चाहेका अशोक व्याञ्जुलाई कठिन पर्ने देखिएको छ । व्याञ्जुले सधैं आफूले मात्रै लाभको पद लिएको भन्दै अन्य एमाले नेता कार्यकर्ता रुष्ट भएका छन् ।

यदि कांग्रेसले धुलिखेलमा रामकृष्ण हुमागाईलाई मेयरको उम्मेदवार बनाएमा व्याञ्जु ठूलो मतान्तरले पराजित हुने निश्चित छ ।

काभ्रेपलान्चोकको सदरमुकाम धुलिखेल नगरपालिकामा एमालेले मेयर, उपमेयरसहित बहुमत वडामा बर्चश्व कायम गरेको थियो ।

एमालेका अशोक ब्यान्जु ७९८१ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश हुमागाईले ५९०८ मत प्राप्त गरेका थिए ।

उपमेयरमा एमालेकै विमला शर्मा ६७२३ मत प्राप्त गरी विजयी भएकी थिइन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला श्रेष्ठले ४९४० मत प्राप्त गरेकी छन् ।

मेयरमा एमाले र कांग्रेसबीच धेरैको मतान्तर छैन । यसपटक एमाले विभाजन भएको र एमालेका धेरै नेता कार्यकर्ता कांग्रेसमा आएकाले कांग्रेसले धुलिखेल नगरपालिका जित्ने आकलन गरिएको छ ।

६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेमा पाँचखालबाहेक सबै नगरपालिका एमालेले जितेको थियो । पाँचखालको मेयरमा कांग्रेसका महेश खरेल विजयी भएका थिए ।

यसपटक पनि उनले जित्ने पाँचखालवासी बताउँछन् । उनी कांग्रेसका पुराना नेता राजेन्द्र खरेलका छोरा हुन् । गत निर्वाचनमा बनेपा नगरपालिका प्रमुखमा एमालेका लक्ष्मीनरसिंह बादेले एघार हजार ४०९ मत प्राप्त गरी विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामराज जोशीले नौ हजार ६५९ मत प्राप्त गरेका थिए । उपप्रमुखमा एमालेबाट रेखा सापकोटाले एघार हजार दुई मत प्राप्त गरी विजयी भएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला श्रेष्ठले नौ हजार ९६० मत प्राप्त गरेकी थिइन् ।

बनेपामा एमाले र कांग्रेसबीच जम्मा १५ सयको मतान्तर छ । त्यही भएर पनि बनेपा र धुलिखेल नगरपालिका कांग्रेसले यसपटक सहजै जित्ने प्रक्षेपण गरिएको हो ।