स्थानीय निर्वाचनमा उम्मेदवार बन्न कती राख्नुपर्छ धरौटी पैसा ?

रेडियो दर्पण संवाददाता

१८ बैशाख, काठमाडौं ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते सकिने बताएका छन्।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले आयोजना गरेको मिडियासँग अन्तर्क्रिया कार्यक्रममा थपलियाले यस्तो बताएका हुन्।

२०७४ सालको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधकारीको म्याद सकिने उनको प्रष्टोक्ति छ। म्याद सकिनु भन्दा २ महिना अगावै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको तर त्यो सम्भव नभए पनि म्याद सकिनुअघि नै मिति घोषणा भइसकेकाले चुनावको तयारी अघि बढेको उनको भनाइ छ।

उनले महिला उम्मेदवारीलाई प्राथमिकता दिन पनि आग्रह गरे। एउटै दलले उम्मेदवारी दिँदा ५० प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ ।

स्थानीय निर्वाचनका लागि उम्मेदवारले राख्नुपर्ने धरौटी तोकियो

यही वैशाख ३० गते शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ। आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखका उम्मेदवारले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ।

त्यस्तै, वडाध्यक्षले एक हजार रुपैयाँ र वडा सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारलाई भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ।

वैशाख ३० को निर्वाचनका लागि ११ र १२ वैशाखमा उम्मेदवारी मनोनयनको मिति तोकिएको छ।