त्रिभुवन विमानस्थलमा बम नभेटिएपछि विमान उडान सुरु

रेडियो दर्पण संवाददाता

२१ वैशाख, काठमाडौं ।

त्रिभुवन विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् ।खोजतलासको कतै पनि बम फेला नपरेको भन्दै त्रासपूर्ण वातावरण नभएको पनि बताए ।

‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो ? अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले न्युज कारखानासँग भने ।

बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ ।

निर्वाचन केन्द्रित रणनीतिक सुरक्षा योजना
आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

जिल्लाका चार नगरपालिकाका सबै मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरी , सशस्त्र प्रहरी बल र म्यादी प्रहरी परिचालित हुने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

उहाँले आवश्यकतानुसार नेपाली सेनाको सुरक्षा टोलीसमेत थप परिचालन हुने र मतदान केन्द्रमा गलत गतिविधि भए तत्कालै नियन्त्रणमा लिनसक्ने गरी सुरक्षा टोली परिचालन हुने सुरक्षा संयन्त्र बनाइएको जानकारी दिनुभयो । उहाँले प्रत्येक मतदान स्थलमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र अन्य दुई कर्मचारी खटाइने र आवश्यकता पर्दा थप कर्मचारी खटाउन तीन प्रतिशत कर्मचारीलाई जगेडामा राखिएको बताउनुभयो ।

मतदान केन्द्रमा खटिने सबै कर्मचारीलाई यही वैशाख २२ र २३ गते तालिम दिइने र यसपछि सामग्रीसहित खटाइने जानकारी दिँदै प्रजिअ शर्माले अनुसन्धानको टोलीबाट दलहरुको आचारसंहिता उल्लङ्घन लगायतका गतिविधिको सूक्ष्म अनुगमन भइरहेको बताउनुभयो ।

जिल्लामा कूल ७७ मतदान स्थल र २१९ मतदान केन्द्र छन् । जिल्लाका भक्तपुर नगरपालिकामा ५७ हजार २७०, सूर्यविनायक नगरपालिकामा ४७ हजार ३६७ र मध्यपुरथिमि नगरपालिकामा ४१ हजार ८४२ र चाँगुनारायण नगरपालिकामा ४३ हजार १०५ मतदाता छन् ।