२८ गतेदेखि लगातार ६ दिन सार्वजनिक बिदा !

रेडियो दर्पण संवाददाता

२३ वैशाख, काठमाडौं ।

स्थानीय तहको निर्वाचनका बेलामा लगातार ६ दिन विदा परेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघिपछि लगातार ६ दिन सार्वजनिक विदा परेको हो ।

बैशाख ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा परेको छ । त्यस्तै, बैशाख ३१ गते शनिवार नियमित विदा परेको छ ।

सरकारले जेठ महिनादेखि सातामा २ दिन विदा दिने निर्णय गरेको छ । त्यसैलै, जेठ १ गते आइतबार परेको हुँदा सो दिन पनि विदा परेको छ । सरकारले अव शनिवार आइतबार पनि विदा दिने छ ।

जेठ २ गते बुद्ध जयन्ती परेको छ । सरकारले बुद्ध जयन्तीको दिन हरेक वर्ष सार्वजनिक विदा दिने गरेको छ । सरकारी पात्रोमा जेठ २ गते सार्वजनिक विदा रहेको छ ।

यता सरकारले स्थानीय तहको निर्वाचन हुनुभन्दा एक दिन अघि सार्वजनिक विदा दिने तयारी गरेको छ । सरकारले बैशाख २९ गते पनि सार्वजनिक विदा घोषणा गर्ने तयारी गरेको हो । कामको सिलसिलामा अस्थायी बसोबास गर्ने मतदातालाई स्थायी थलोमा पुग्न सरकारले निर्वाचनको अघिल्लो दिन नै सार्वजनिक विदा दिने अभ्यास विगतमा गरेको थियो ।

त्यस्तै, सरकारले मतदान केन्द्र रहेका स्कूल, कलेज, स्वास्थ्य चौकी लगायत सार्वजनिक निकायहरु भने बैशाख २८ गतेदेखि नै बन्द गर्ने निर्णय गरिसकेको छ । मतदान तथा सुरक्षाको हिसावले सम्पूर्ण तयारी गर्नुपर्ने भएकाले २८ गते नै बन्द गर्ने निर्णय गरेको हो ।

निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह
गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्नुभएको छ ।

बिहीबार सप्तरीको राजविराजमा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री खाणले आम नागरिक र राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय लाग्नुपर्ने बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । “आवधिक निर्वाचन लोकतन्त्रमा अपरिहार्य हो । म अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई यो निर्वाचनमा भाग लिएर नागरिकको सशक्तिकरण र विकास निर्माणको कार्यमा सहभागी हुन आग्रह गर्छु’’, गृहमन्त्री खाणले भन्नुभयो, “निर्वाचनमा सबैको सहभागिताका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले वातावरण निर्माण गर्नुपर्छ ।’’

गृहमन्त्री खाणले सरकार स्थानीय तह निर्वाचन शान्ति पूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सीमित स्रोतसाधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंशायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । सुरक्षा गोष्ठीका सहभागीले निर्वाचनको तयारी चुस्तदुरुस्त रूपमा आफूहरूले गरिरहेको बताएका थिए ।