एमाले मेयरका उम्मेदवारको गाडी जलाइयो

रेडियो दर्पण संवाददाता

२६ वैशाख, काठमाडौं ।

दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार रहेका तर्कबहादुर बडुवालको गाडीमा आगजनी गरिएको छ । बा. १९ च ५५७९ नम्बरको स्करपियो गाडीमा बिहान सवा ३ बजेको समयमा आगजनी भएको हो ।

गाडी आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होटलमा पार्किङ गरेर राखिएको थियो । चालक गाडीभित्रै सुतिरहेको अवस्थामा आगजनी गरिएको बताइएको छ ।

बडुवालले अज्ञात समूहले गाडी आगजनी गरेको बताएका छन् । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकैको खोलामा पुर्याएका थिए,’ उनले भने,‘त्यस कारण खासै क्षति हुन पाएन ।’

घटनाबारे इलाका प्रहरी कार्यालय राकमले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

औरहीमा माओवादी र नेकपा एसबीच गठबन्धन

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले धनुषाको औरही गाउँपालिकामा चुनावी गठबन्धन गरेको छ ।

आसन्न निर्वाचनमा माओवादीले गाउँपालिका अध्यक्ष र नेकपा एसले उपाध्यक्ष लिएर चुनावी गठबन्धन गरेको जनाएको छ । माओवादीका धनुषा अध्यक्ष दीपककुमार यादव र नेकपा एसका अध्यक्ष रामचन्द्र पण्डितले गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दुवै दलबीच औरही गाउँपालिकाको अध्यक्षसहित वडा नं. १, ३, ५ र ६ नम्बर वडाको वडाध्यक्ष माओवादीले र उपाध्यक्षसहित वडा नं २ र ४ को वडाध्यक्ष नेकपा एसले लिएर गठबन्धन गर्ने सहमति गरिएको जनाइएको छ । सहमतिसँगै दुवै दलले संयुक्तरुपमा चुनावी प्रचारप्रसार सुरु गरेका छन् ।